बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ को आयोजना तथा वडा युवा परिषदको व्यवस्थापनमा सञ्चालन भएको अन्तर विद्यालय विविध खेलकुद प्रतियोगिता–२०८२ माघ २२ देखि माघ २५ गतेसम्म विभिन्न खेल विधासहित सम्पन्न भएको छ।
वडाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता देखाएका थिए। आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास र स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, वडा नं. ९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, खेलकुद विकास बोर्डका अध्यक्ष सुमन लामा, नगर युवा परिषदका उपाध्यक्ष शिरीष पौडेल र अन्य वडा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले युवालाई खेलकुदमार्फत अनुशासित, सक्रिय र सकारात्मक दिशातर्फ उन्मुख गराउन यस्ता प्रतियोगिताले ठूलो योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
प्रतियोगितामा फुटसल, बास्केटबल, कबड्डी, टग अफ वार र भलिबल लगायतका विधामा विद्यालयहरूबीच कडा प्रतिस्पर्धा देखियो। Kasthamandap School, National Ideal School, St. Devis School, Bigyan School र Neighbourhood School ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भए। छात्र र छात्रा दुवै समूहमा भएका खेलहरूले विद्यार्थीहरूको क्षमता, सहकार्य भावना र खेलकुदप्रतिको लगाव झल्काएको आयोजकले जनाएको छ।
उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। वडा नं. ९ ले आगामी दिनमा पनि विद्यालयस्तरमा खेलकुद गतिविधि विस्तार गर्दै युवालाई खेलकुदमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया