काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आजदेखि फागुन १५ गतेसम्म सञ्चालन गर्ने भएको छ। ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी यो अभियान सुरु गरिएको हो।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभर खोप अभियान सञ्चालन हुनेछ। किशोरीहरूले आ–आफ्नो विद्यालय, नजिकको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्नेछन्।
महाशाखाले कक्षा ६ मा अध्ययन गर्ने सबै छात्राले अनिवार्य रूपमा खोप लगाउनुपर्ने जनाएको छ। साथै, गत वर्षको अभियानमा छुट भएका कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी करिब ३ लाख ५० हजार जनालाई खोप लगाउने तयारी गरिएको छ।
सरकारले गत वर्ष ६ देखि १४ वर्ष उमेर समूहका करिब १६ लाख छात्रालाई एचपीभी खोप लगाइसकेको छ। यस वर्षदेखि भने एचपीभी खोपलाई नियमित खोप कार्यक्रमअन्तर्गत समावेश गरी सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया