चार रनले चुक्यो इतिहास : इंग्ल्यान्डविरुद्ध नेपाल किन जित्न सकेन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०८२, सोमबार ०७:१०

काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमै नेपालले विश्व क्रिकेटको शक्तिशाली टोली इंग्ल्यान्डलाई कडा चुनौती दियो। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा सम्पन्न खेलमा नेपाल जितको नजिक पुगेर पनि चार रनले पराजित हुन पुग्यो। स्कोरबोर्डमा हार झिनो देखिए पनि, खेलका केही निर्णायक क्षणमा भएको चुकले परिणाम इंग्ल्यान्डतर्फ मोडिएको देखियो।

अन्तिम ओभरको दबाब र बाउन्ड्रीको अभाव

१८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा नेपालले पाँच रन मात्र जोड्न सक्यो। सबैभन्दा ठूलो कमजोरी यहीँ देखियो—अन्तिम ओभरमा नेपालले एउटा पनि बाउन्ड्री प्रहार गर्न सकेन।

पाँचौँ बलमा रनका लागि अवसर हुँदाहुँदै करण केसी नदौडिँदा दबाब झन् बढ्यो। अन्तिम बलमा छक्का आवश्यक परेका बेला लोकेश बमबाट एक रन मात्र आयो र नेपाल ऐतिहासिक जितबाट चुक्न पुग्यो।

राम्रो सुरुवात, तर निरन्तरता अभाव

ओपनरद्वय आशिफ शेख (७) र कुशल भुर्तेल (२९) ले ३.५ ओभरमै ३७ रनको साझेदारी गरे। यो टी–२० विश्वकप इतिहासमा नेपालको अहिलेसम्मकै ठूलो ओपनिङ साझेदारी हो। तर आशिफ सस्तोमा आउट भएपछि सुरुवातको लय कायम रहन सकेन।

भुर्तेलले आक्रामक २९ रन बनाए पनि उनको विकेटसँगै इंग्ल्यान्डले खेलमा पुनः नियन्त्रण जमायो।

ऐरी–रोहितको उत्कृष्ट साझेदारी, तर कमजोर फिनिसिङ

कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई खेलमा मजबुत रूपमा फर्काए। ऐरीले ४४ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने ऐतिहासिक उपलब्धि पनि हासिल गरे।

तर १५ औँ ओभरमा ऐरी र त्यसपछि रोहित आउट भएपछि मध्यक्रम दबाबमा आयो। आरिफ शेख र लोकेश बमले जिम्मेवारी सम्हाल्ने अवसर पाए पनि आरिफ १८ औँ ओभरमै आउट हुँदा खेल पुनः इंग्ल्यान्डतर्फ ढल्कियो।

डेथ ओभरमा अनुभवको कमी

१९ औँ ओभरमा नेपालले १४ रन जोड्दै खेललाई रोमाञ्चक बनायो, तर सोही ओभरमा गुल्सन झा आउट भए। अन्तिम दुई ओभरमा आवश्यक २४ रनमध्ये अन्तिम ओभरमा लक्ष्य पूरा गर्न नसक्नु नेपालको सबैभन्दा ठूलो चुक बन्यो। अनुभवी इंग्ल्यान्डका बलर साम कुरानले दबाबमा सही लाइन र लेन्थ कायम राख्दा नेपाली ब्याटर रन निकाल्न असफल रहे।

बलिङमा अन्तिम ओभरको महँगो मूल्य

बलिङतर्फ नेपालले समग्रमा सन्तोषजनक प्रदर्शन गर्‍यो। दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट झारे। ऐरी टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट लिने बलरसमेत बने।

तर अन्तिम ओभरमा विल ज्याक्सबाट ब्यहोरेका तीन छक्काले इंग्ल्यान्डको स्कोर १८४ रनसम्म पुर्‍यायो, जुन अन्ततः नेपालका लागि ‘चार रन धेरै’ साबित भयो।

नेपाल इंग्ल्यान्डसँग क्षमतामा होइन, निर्णायक क्षणमा सही निर्णय, फिनिसिङ क्षमता र डेथ ओभरको नियन्त्रणमा पछि पर्‍यो। अन्तिम ओभरमा बाउन्ड्री नआउनु, रनिङबीच समन्वय नहुनु र केही अतिरिक्त रन खर्चिनु नै हारका मुख्य कारण बने।

तर यस खेलले नेपाल अब केवल सहभागी होइन, विश्व क्रिकेटका ठूला टोलीलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको स्पष्ट संकेत दिएको छ। अब नेपालले यही अनुभव उपयोग गर्दै माघ २९ गते हुने इटालीविरुद्धको खेलमा जित निकाल्नुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply