बलियो इङ्ल्यान्डविरुद्ध नेपालको ऐतिहासिक चुनौती टी–२० विश्वकपको पहिलो खेल आज वाङ्खेडेमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०८२, आईतवार ०६:०५

मुम्बई । आइसीसी टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग खेल्दैछ। बलियो प्रतिद्वन्द्वीविरुद्ध नेपाल महत्वाकांक्षी जितको खोजीमा मैदान उत्रँदैछ। नेपाल र इङ्ल्यान्डबीचको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय भिडन्त हुनेछ, जुन आफैंमा ऐतिहासिक मानिन्छ।

मुम्बईको ऐतिहासिक वाङ्खेडे स्टेडियममा हुने खेल आइतबार नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। छिमेकी राष्ट्र भारतमा आयोजना भइरहेको विश्वकपमा नेपाली समर्थकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। आइसीसीका अनुसार भारतपछि सर्वाधिक मागमा रहेको टिकट नेपालका खेलहरूकै रहेको छ।

समूह चरणको पहिलो खेलमै टी–२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष तीनमा पर्ने तथा हाल उत्कृष्ट फर्ममा रहेको इङ्ल्यान्डविरुद्ध नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। नेपालले यसअघि पनि टेष्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्दै राम्रो प्रदर्शन गरिसकेको छ। वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिज २–१ ले जित्दै नेपालले टेष्ट राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक पराजित गरेको इतिहास बनाएको थियो।

यो विश्वकपमा नेपालले दुई वटा टेष्ट राष्ट्रसँग खेल्नेछ। इङ्ल्यान्ड नेपालभन्दा वरीयतामा १३ स्थान माथि रहेको छ र टी–२० क्रिकेटमा बढी अनुभव र एक्सपोजर पाएको टिम हो। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा इङ्ल्यान्डले नेपाललाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।

इङ्ल्यान्डले खेलको एक दिनअघि नै आफ्नो प्लेइङ–११ सार्वजनिक गरिसकेको छ। यसले नेपाललाई विपक्षीको रणनीति बुझ्दै उपयुक्त योजना बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। नेपालका प्रशिक्षक स्टुअर्ट ललाई रणनीति तयार पार्न पर्याप्त समय मिलेको छ। लामो क्रिकेट इतिहास बोकेको वाङ्खेडेमा ठूलो संख्यामा उपस्थित नेपाली समर्थकका अगाडि अर्को टेष्ट राष्ट्रलाई हराउने अवसर नेपालका लागि ऐतिहासिक बन्न सक्छ।

इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले नेपाललाई सम्मानजनक प्रतिद्वन्द्वीको रूपमा लिँदै आफ्नो लक्ष्य विश्वकप जित्नु रहेको बताए। “हाम्रो पहिलो खेल नेपालसँग छ। हामी वर्तमानमा केन्द्रित रहन्छौँ,” उनले भने, “वाङ्खेडेको बाउन्ड्री सानो भएकाले यहाँ रन बनाउन सहज हुनेछ।” दुई पटकको च्याम्पियन इङ्ल्यान्ड तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ। नेपाल नयाँ प्रतिस्पर्धी भएकाले राम्रो तयारी आवश्यक रहेको उनले बताए।

त्यसैगरी, इङ्ल्यान्डका स्पिनर विल ज्याक्सले नेपाल पछिल्लो समय तीव्र गतिमा सुधार गरिरहेको टिम भएको टिप्पणी गरे। “हाम्रो लागि विश्वकपका सबै खेल उत्तिकै महत्वपूर्ण छन्,” उनले भने।

आत्मविश्वासमा नेपाल

मुख्य विश्वकपअघि नेपालले खेलेका दुवै अभ्यास खेल जित्दै बलियो आत्मविश्वास बनाएको छ। नेपालले युएईलाई ७ विकेट र क्यानडालाई ६ विकेटले पराजित गरेको थियो। कप्तान रोहित पौडेलले वाङ्खेडेजस्तो ऐतिहासिक मैदानमा नयाँ इतिहास रच्ने लक्ष्य रहेको बताएका छन्।
“सायद हामी यही विश्वप्रसिद्ध रंगशालामा नयाँ इतिहास बनाएर फर्कनेछौँ,” रोहितले भनेका छन्।

नेपाल समूह चरणका कम्तीमा दुई खेल जित्दै सुपर–८ मा पुग्ने लक्ष्यमा छ। “अब हामी समूह चरणमै रोकिने छैनौँ,” रोहितले स्पष्ट पारे। नेपालले तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलिरहेको हो।

छोटो बाउन्ड्री भएका कारण नेपाली ब्याटरहरूका लागि पनि ठूला सट खेल्ने अवसर रहनेछ। यद्यपि, वाङ्खेडेमा अभ्यास नगरी सिधै खेल खेल्नु नेपालका लागि केही चुनौतीपूर्ण हुन सक्छ। बलरहरूले इङ्ल्यान्डलाई २०० रनभन्दा कममा रोक्ने रणनीतिमा केन्द्रित हुनुपर्ने देखिन्छ।

समूह चरणमा नेपालले पहिलो खेल इङ्ल्यान्डसँग, दोस्रो खेल इटालीसँग, तेस्रो खेल वेस्ट इन्डिजसँग र चौथो खेल स्कटल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply