बुढानीलकण्ठमा HPV खोपसम्बन्धी नगरस्तरीय खोप समन्वय समितिको बृहत् पूर्व बैठक सम्पन्न विद्यालय केन्द्रित नियमित खोप कार्यक्रम प्रभावकारी बनाउन जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८२, शुक्रबार १७:५०

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा HPV (ह्युमन पापिलोमा भाइरस) खोपसम्बन्धी नगरस्तरीय खोप समन्वय समितिको बृहत् पूर्व बैठक कार्यक्रम सम्पन्न भएको छ। “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ” भन्ने नारासहित बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रम नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर उप–प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला  , विभिन्न वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरू, बुढानीलकण्ठ नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख कुमार दाहाल, शिक्षकहरू, पत्रकार, स्वयंसेविका तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, HPV खोपसम्बन्धी जानकारी दिन विशेषज्ञ चिकित्सकको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले HPV खोपले भविष्यमा महिलाको जीवनरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय केन्द्रित नियमित खोप कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले दीर्घकालीन सोचसहित लगानी गरिरहेको र HPV खोप त्यसकै एक महत्वपूर्ण अङ्ग भएको बताए।

उप–प्रमुख अनिता लामाले किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि HPV खोप अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै अभिभावक, शिक्षक र समुदायबीच सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्। उनले स्वास्थ्यसम्बन्धी हल्ला र भ्रम चिर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्।

कार्यक्रममा नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख कुमार दाहालले HPV खोपबारे विस्तृत जानकारी प्रस्तुत गर्दै HPV भनेको के हो, यसले कसरी काम गर्छ र यसका फाइदाबारे स्पष्ट पारे। उनका अनुसार HPV एक प्रकारको भाइरस हो, जसले पाठेघरको मुखको क्यान्सरसहित विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ। HPV खोपले किशोरीहरूलाई भविष्यमा हुने गम्भीर रोगबाट सुरक्षित राख्न मद्दत गर्ने उनले बताए।

विशेषज्ञ चिकित्सकले खोप सुरक्षित, प्रभावकारी र विश्व स्वास्थ्य संगठनबाट प्रमाणित रहेको जानकारी दिँदै निर्धारित उमेर समूहका किशोरीलाई समयमै खोप लगाउन आग्रह गरे।

कार्यक्रमको सञ्चालन जीवन शर्माले गर्नुभएको थियो। उनले विद्यालय, अभिभावक र स्थानीय तहबीचको समन्वयले मात्र खोप कार्यक्रम सफल हुने बताए।

कार्यक्रममा सहभागीहरूले HPV खोपसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय, योजना र सूचनाको आदान–प्रदानमा जोड दिएका थिए।

प्रतिक्रिया

Leave a Reply