काठमाडौं । प्रादेशिक अस्पताल सिरहामा सेवा शुल्क संकलनका क्रममा करिब ३८ लाख ७७ हजार रुपैयाँभन्दा बढी राजस्व हिनामिना भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अस्पताल प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार अस्पतालका ८ वटा बिल काउन्टरमार्फत ओपीडीलगायत सेवाबाट संकलित रकम नियमित रूपमा राजस्व खातामा दाखिला नगरिएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/०८१ मा बिलिङ सफ्टवेयरअनुसार जम्मा हुनुपर्ने ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसा मध्ये ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको पाइएको आयोगले जनाएको छ। बाँकी ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा दाखिला नगरी हिनामिना गरिएको ठहर गरिएको हो।
आयोगका अनुसार बिल काउन्टरमा कार्यरत कर्मचारीहरूले संकलन गरेको रकम र बैंक भौचरअनुसार दाखिला भएको रकमबीच ठूलो अन्तर देखिएको छ। अहेव श्याम कुमार मण्डलले २५ लाख ४७ हजार ४१७ रुपैयाँभन्दा बढी, सरस्वती कुमारी यादवले ५ लाख २ हजार ८१३ रुपैयाँ, पूजा कुमारी यादवले २ लाख ८८ हजार २२९ रुपैयाँ, अजय कुमार मण्डलले ३ लाख ७९ हजार रुपैयाँभन्दा बढी तथा रोशन कुमार यादवले १ लाख ६४ हजार रुपैयाँभन्दा बढी रकम दाखिला नगरेको अख्तियारको निष्कर्ष छ।
त्यस्तै, तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह र लेखा प्रमुख अशोक कुमार यादवले पनि आफ्नो पदको दुरुपयोग गरी मिलेमतोमा राजस्व हिनामिनामा संलग्न रहेको ठहर गर्दै उनीहरूमाथि बिगो बराबरकै सजाय मागदाबी गरिएको छ।
यसैगरी, मृत्यु भइसकेका तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको हकमा कानुनी प्रावधानअनुसार बिगो असुलीका लागि उनकी श्रीमती मुस्कान कुमारी मण्डललाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
आयोगले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुल उपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
प्रतिक्रिया