काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ अन्तर्गत चुनीखेल स्वास्थ्य चौकीमा महिलाहरूका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।
वडा कार्यालयका अनुसार मिति २०८२ माघ २१ गते (फेब्रुअरी ४, २०२६) का दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रम अन्तर्गत वडा नं. १३ भित्रका महिलाहरूले निःशुल्क रूपमा पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा लिन सक्नेछन् ।
कार्यक्रमबारे जानकारी दिँदै वडा अध्यक्ष टीका नारायण श्रेष्ठले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो— “पाठेघरको मुखको क्यान्सर समयमै परीक्षण गरेमा पूर्ण रूपमा रोकथाम गर्न सकिने रोग हो । वडा भित्रका दिदीबहिनीहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउन र प्रारम्भिक परीक्षणलाई सहज बनाउने उद्देश्यले यो निःशुल्क कार्यक्रम ल्याएका हौं । सबै योग्य महिलाहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गर्दछु ।” स्वास्थ्य चौकीका अनुसार परीक्षण गर्न आउने महिलाले केही कुरामा ध्यान दिनुपर्नेछ ।
राजस्वला भएको कम्तीमा ५ दिन पूरा भएको हुनुपर्ने, परीक्षणभन्दा २४ घण्टा अगाडि यौन सम्पर्क नगरेको हुनुपर्ने तथा पाठेघरमा कुनै औषधि प्रयोग नगरेको हुनुपर्ने जनाइएको छ । कार्यक्रम सफल बनाउन वडा सदस्यहरू तथा स्वास्थ्य चौकी प्रमुखको समन्वय रहने वडा कार्यालयले जनाएको छ । उक्त परीक्षण कार्यक्रम चुनीखेल स्वास्थ्य चौकी, चुनीखेलमै आयोजना हुनेछ ।

प्रतिक्रिया