टोखा नगरपालिकामा सम्भावित मतदान केन्द्रहरूको संयुक्त अनुगमन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०८२, बुधबार ०६:५८

टोखा, काठमाडौँ। टोखा नगरपालिका अन्तर्गत निर्वाचन क्षेत्र नं. ५ लगायत विभिन्न निर्वाचन क्षेत्रका विद्यालय तथा सम्भावित निर्वाचन स्थलहरूको निर्वाचनका लागि उपयुक्तता मूल्याङ्कन गर्न संयुक्त अनुगमन गरिएको छ।

अनुगमन टोलीमा सहायक निर्वाचन अधिकृत श्रद्धा रिजाल र सुदिप पोखरेलको नेतृत्वमा रहेको निर्वाचन कार्यालयको टोली तथा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कलम भट्टराई, शिक्षा विभाग प्रमुख खगेन्द्र सिंह धामीसहित नगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए।

अनुगमनका क्रममा विद्यालय तथा सम्भावित मतदान स्थलहरूको भौतिक पूर्वाधार, कक्षाकोठाको अवस्था, पहुँच मार्ग, सुरक्षा व्यवस्था, विद्युत् तथा खानेपानी सुविधा, शौचालय, अपाङ्गमैत्री संरचना लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको जनाइएको छ।

टोलीले निरीक्षण गरिएका स्थलहरू निर्वाचन सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा भए वा नभएको सम्बन्धमा प्रतिवेदन तयार गर्ने जनाएको छ। कमजोर पूर्वाधार भएका स्थलहरूमा आवश्यक सुधारका लागि सम्बन्धित निकायलाई सिफारिस गरिने र आवश्यक व्यवस्थापन तत्काल अघि बढाइने पनि बताइएको छ।

अनुगमनपछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत भट्टराईले निष्पक्ष, सुरक्षित र व्यवस्थित निर्वाचन सम्पन्न गर्न पूर्वतयारी अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै समयमै स्थल पहिचान र व्यवस्थापन गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताए।

त्यसैगरी शिक्षा विभाग प्रमुख खगेन्द्र सिंह धामीले विद्यालयहरूलाई निर्वाचनमैत्री बनाउन आवश्यक पूर्वाधार सुधार तथा व्यवस्थापनमा नगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

संयुक्त अनुगमनबाट प्राप्त निष्कर्षका आधारमा आगामी निर्वाचनका लागि उपयुक्त स्थल छनोट, व्यवस्थापन योजना तथा आवश्यक सुधार कार्य अघि बढाइने टोखा नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply