स्वास्थ्य बीमा प्रभावकारी बनाउन वित्तीय असन्तुलन र दाबी भुक्तानी चुनौती : मन्त्री गौतम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०८२, सोमबार ०६:५३

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन वित्तीय असन्तुलन र समयमै दाबी भुक्तानी नहुनु मुख्य चुनौती बनेको बताएकी छन्।

मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गौतमले स्वास्थ्य बीमा क्षेत्रमा देखिएका संरचनागत र व्यवस्थापकीय समस्याबारे स्पष्ट रूपमा धारणा राख्दै कमजोरी स्वीकार गरेकी हुन्। उनका अनुसार उच्च स्वास्थ्य जोखिम भएका व्यक्तिहरूको मात्र बढी सहभागिता हुनु, अनावश्यक रूपमा सेवा उपभोग हुनु तथा दाबी व्यवस्थापनमा देखिएको कमजोरीले बीमा प्रणालीलाई सफल बनाउन कठिनाइ उत्पन्न गरेको छ।

पदभार ग्रहण गरेदेखि नै स्वास्थ्य बीमा सुधारलाई प्राथमिकतामा राखेर काम गरिए पनि प्राविधिक जटिलता र व्यवस्थापकीय समस्याले अपेक्षित गति लिन नसकेको मन्त्री गौतमको भनाइ छ। उनले स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण प्रतिवेदन तयार भई स्वीकृतिको अन्तिम चरणमा पुगेको जानकारी पनि दिइन्।

मन्त्री गौतमले देशमा दक्ष स्वास्थ्य जनशक्ति उपलब्ध भए पनि पुरानो संरचना र अपर्याप्त पूर्वाधारका कारण गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न चुनौती थपिएको उल्लेख गरिन्।

आगामी दिनमा स्वास्थ्य प्रणालीलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जनविश्वास अभिवृद्धि हुने गरी सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता मन्त्री गौतमले व्यक्त गरिन्।

प्रतिक्रिया

Leave a Reply