काठमाडौँ । पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) कागजात तयार गरी ठगी गरेको आरोपमा छ जना पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।
सीआईबीका प्रमुख अतिरिक्त महानिरीक्षक मनोज केसीका अनुसार तीन वटा निजी कम्पनीमार्फत योजनाबद्ध रूपमा फेक रेस्क्यु गरी बीमा रकम दाबी गरिएको अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, साथै एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन्।
एआईजी केसीका अनुसार माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यु देखाएर १० करोड अमेरिकी डलरभन्दा बढी बीमा दाबी गरेको पाइएको छ।
त्यसैगरी, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धार देखाएर ७५ जनाको नक्कली उद्धार गरेको र यसबापत ८२ लाख अमेरिकी डलर दाबी गरेको सीआईबीले जनाएको छ।
एआईजी केसीले भने,
“एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ जनाको फेक रेस्क्यु गरेको र यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर दाबी गरेको पाइएको छ।”
सीआईबीका अनुसार अधिकांश नक्कली उद्धार लुक्लाबाट गरिएको पाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया