कागेश्वरी मनोहरा–८ मा छड्के अनुगमन, मासु पसलमा बढी लापरबाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०८२, आईतवार ०७:१८

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाले आज वडा नम्बर ८ अन्तर्गतका विभिन्न खाद्य सामग्री बिक्री केन्द्रहरूमा छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा एक दर्जनभन्दा बढी पसल तथा होटलको निरीक्षण गर्दा मासु पसलहरूमा सबैभन्दा बढी लापरबाही फेला परेको छ।

नगरपालिकाका अनुसार केही मासु पसलहरूले म्याद गुज्रिएको तथा खान अयोग्य मासु भण्डारण र बिक्री गरेको पाइएको छ। दोषी भेटिएका पसलहरूलाई ३ देखि ७ दिनको समयसीमा (अल्टिमेटम) दिँदै गुणस्तर तथा स्वास्थ्य मापदण्ड सुधार गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र सुधार नगरे कडा कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ।

यसअघि बुधबार र बिहीबार वडा नम्बर ९ मा गरिएको अनुगमनका क्रममा पनि अधिकांश मासु पसलहरूमा चरम लापरबाही देखिएको थियो। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने किसिमले मिसावटयुक्त तथा अस्वस्थकर सामग्री बिक्री भइरहेको उजुरी आएपछि नगरपालिकाले छड्के अनुगमन तीव्र पारेको हो।

नगरपालिकाले विशेषगरी मासुजन्य पदार्थमा देखिएको लापरबाहीलाई गम्भीर रूपमा लिँदै अखाद्य सामग्रीको बेचबिखनमा कडाइ गर्ने नीति अवलम्बन गरेको जनाएको छ। अबदेखि नियमित अनुगमन, व्यवसायी सचेतना अभियान तथा नियम उल्लङ्घन गर्ने व्यापारीमाथि कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply