बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डको अध्यक्षमा सुमन तामाङ चयन भएका छन्।
बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा नवनियुक्त अध्यक्ष तामाङलाई नगर प्रमुख मिठाराम अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
तामाङ लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका छन्। काठमाडौं जिल्ला तथा बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा खेलकुद विकासमा उनले उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
विगत धेरै वर्षदेखि जनप्रतिनिधिको भूमिकामा रहेका तामाङको नेतृत्व र सहयोगमा विभिन्न खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई पदकसमेत हासिल गरेको तथ्यले उनको योगदानलाई पुष्टि गर्छ।
त्यसैगरी, बुढानिलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डको उपाध्यक्षमा दीपक तामाङ चयन भएका छन्। उपाध्यक्ष तामाङ युवा खेलाडी हुनुका साथै बुढानिलकण्ठ युवा परिषद्का सदस्यसमेत रहेका छन्।
नगरपालिकाले नवनियुक्त पदाधिकारीहरूको नेतृत्वमा नगरभित्र खेलकुदको विकास थप सशक्त हुने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया