काठमाडौं । जाडो मौसममा छाला सुख्खा, फुस्रो हुने, चिलाउने, फुट्ने तथा हावा र चिसोको एलर्जी हुने जस्ता समस्या बढ्ने गर्छन्। वातावरणमा आर्द्रता कम हुने भएकाले हावा सुख्खा हुन्छ र यसले छालाभित्रको प्राकृतिक नमी (मोइस्चर) सोस्ने हुँदा छाला फुस्रो बन्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ।
छाला रोग विशेषज्ञ डा. क्यालका अनुसार जाडोमा छालालाई अन्य मौसमको तुलनामा बढी स्याहार आवश्यक पर्छ। सही तरिकाले ख्याल राख्न सके चिसो मौसममा पनि छालालाई नरम र मुलायम राख्न सकिन्छ।
जाडोमा धेरै तातो पानी प्रयोग गर्ने बानीले छाला अझै सुख्खा बनाउँछ। डा. क्याल भन्छिन्, “सकेसम्म हल्का मनतातो पानी प्रयोग गर्नुपर्छ र दुई–तीन मिनेटमै नुहाइसक्नु राम्रो हुन्छ।”
नुहाइसकेपछि तौलियाले शरीर छपछप पुछ्ने, घोटेर नपुछ्ने र तुरुन्तै मोइस्चराइजर लगाउने बानी बसाल्नुपर्ने उनी सुझाउँछिन्।
धेरैले जाडोमा लोसन प्रयोग गरे पनि क्रिम र लोसनको भिन्नता नबुझ्ने गरेको डा. क्यालको भनाइ छ।
क्रिम र लोसन दुवै मोइस्चराइजर हुन्। तर क्रिम बाक्लो हुने र यसमा तेलको मात्रा बढी हुने भएकाले जाडोमा सुख्खा छालाका लागि बढी प्रभावकारी हुन्छ। लोसन भने तरल हुने र मुख्यतः छालालाई ‘हाइड्रेट’ गर्न प्रयोग गरिन्छ।
शी बटर, कोको बटर, हायलुरोनिक एसिड र ग्लिसिरिनयुक्त मोइस्चराइजर जाडोमा उपयुक्त हुने उनी बताउँछिन्।
जाडोमा घाम कम देखिए पनि सनस्क्रिन आवश्यक हुन्छ। “मोइस्चराइजरसँगै राम्रो एसपीएफ भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ,” डा. क्याल भन्छिन्।
गोलभेंडा, आलु, कागतीजस्ता सामग्री अनुहारमा सिधै दल्दा फाइदाभन्दा बेफाइदा हुन सक्छ। यस्ता सामग्रीमा छालाका लागि आवश्यक तत्व सही मात्रामा नहुने भएकाले उल्टै छाला बिग्रन सक्छ।
तेल प्रयोग गर्नुपरे शुद्ध नरिवलको तेल (नरिवलको पानीबाट बनेको) बढी प्रभावकारी हुने उनी बताउँछिन्।
जाडोमा कत्ले रोग, छाला चिलाउने, रातो दाग देखिने, कपालमा चाया बढ्ने तथा हात–खुट्टाका औंला रातो, सुन्निने समस्या देखिन सक्छ। चिसोमा रक्तनली खुम्चिने भएकाले यस्तो समस्या देखिने र यसको मुख्य उपाय हात–खुट्टा न्यानो राख्नु नै हो।
अत्यधिक हिटर प्रयोग गर्दा वरिपरिको हावा अझै सुख्खा हुने भएकाले आधादेखि एक घण्टाभन्दा बढी हिटर ताप्नु उपयुक्त नहुने डा. क्यालको सुझाव छ।
सिधै ऊनी कपडा लगाउनुभन्दा भित्र कटनको कपडा लगाएर मात्र ऊनी स्विटर, मोजा वा पन्जा प्रयोग गर्नुपर्छ।
जाडोमा मेकअप गर्दा छाला बिग्रिन्छ भन्ने होइन। मेकअप अघि राम्रोसँग मोइस्चराइजर लगाउनुपर्छ र सुत्नुअघि मेकअप राम्ररी हटाउनुपर्छ। साबुन वा फेसवासको सट्टा क्लिन्जिङ क्रिम वा क्लिन्जिङ मिल्क प्रयोग गर्नु उपयुक्त हुने डा. क्याल बताउँछिन्।
प्रतिक्रिया