कागेश्वरी मनोहरामा पाँचौँ वागमती प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता पुस २६–२७ मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०८२, शुक्रबार ०६:५६

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा पाँचौँ वागमती प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता पुस २६ र २७ गते आयोजना हुने भएको छ ।

नेपाल तेक्वान्दो सङ्घ वागमती प्रदेश, जिल्ला समन्वय समिति काठमाडौँ तथा कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा वागमती प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिँदै कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले खेलकुदले अनुशासन, आत्मविश्वास र राष्ट्रप्रेम विकास गर्ने भएकाले स्थानीय तहले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
“खेलकुद केवल मनोरञ्जन मात्र होइन, युवालाई सकारात्मक दिशामा अघि बढाउने सशक्त माध्यम हो,” नगरप्रमुख कार्कीले भने, “कागेश्वरी मनोहरा नगरपालिका खेलकुद पूर्वाधार, प्रतियोगिता आयोजना र प्रतिभा उत्पादनमा सधैं प्रतिबद्ध छ ।”

नगरप्रमुख कार्कीले यस्ता प्रदेश स्तरीय प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगिता सफल बनाउन आवश्यक सबै तयारी तीव्र गतिमा भइरहेको छ । प्रतियोगितालाई स्वच्छ, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन प्राविधिक टोली, निर्णायक र स्वयंसेवक परिचालन गरिनेछ ।

स्थानीय तह, खेल सङ्घ–संस्था र खेलप्रेमीहरूको सहकार्यबाट प्रतियोगिता सफल हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply