काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको आधिकारिक निर्णय नमानेको आरोप लगाएका छन्।
उनका अनुसार गत पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा सो निर्णयको अवज्ञा गर्दै विशेष महाधिवेशनको आह्वान गर्नु गलत भएको महतको भनाइ छ।
‘हामी पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिनुपर्छ। महामन्त्रीहरू झन् जिम्मेवार पदमा हुनुहुन्छ। वैशाख २८ गते महाधिवेशन गर्ने भनेर पार्टीले निर्णय गरिसकेको छ, तर महामन्त्रीहरूले सो निर्णय मान्नुभएको छैन,’ उनले भने।
महाधिवेशन सम्पन्न गराउने मुख्य जिम्मेवारी महामन्त्रीहरूको नै भएको उल्लेख गर्दै महतले महाधिवेशन किन समयमा हुन नसकेको भन्ने विषय उनीहरूलाई नै राम्रोसँग थाहा रहेको बताए।
चुनावलगत्तै महाधिवेशन गर्ने सहमति भए पनि अहिलेको प्राथमिकता सबै नेता–कार्यकर्ता एकजुट भएर निर्वाचनको तयारीमा लाग्नुपर्ने समय भएको उनले बताए। साथै, पार्टीकै नेताविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज भइरहेकोप्रति असन्तुष्टि जनाउँदै उनले आन्तरिक विषयलाई सार्वजनिक रूपमा विवादमा तान्नु उचित नहुने बताए।
पार्टीकै नेताको विरुद्ध सामाजिक सञ्जालमा निरन्तर गालीगलौज हुनु दुःखद भएको भन्दै महतले त्यसप्रति आपत्ति जनाएका छन्।
प्रतिक्रिया