काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका घिसिङले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलसँग आबद्ध मन्त्रीहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेपछि घिसिङले राजीनामा दिएको जनाइएको छ।
घिसिङ केही समयदेखि आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ अघि बढाउँदै आएका थिए। सो पार्टीले यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेको थियो। एकतापछि घिसिङ रास्वपाको पहिलो वरीयताका उपसभापति बनेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा घिसिङ काठमाडौं क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने तयारीमा रहेका छन्।
उनी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भदौ ३० गते मन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया