काठमाडौँ । अन्तर्राष्ट्रिय फूटसल प्रतियोगितामा सहभागिता जनाउन बुढानीलकण्ठ नगरपालिकाबाट नेपाली फूटसल टिम प्रस्थान गरेको छ। टिमको विदाइ कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको थियो।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी तथा उप–प्रमुख अनिता लामाले खेलाडी तथा टिम अफिसियलहरूलाई औपचारिक रूपमा विदाइ गर्दै शुभकामना व्यक्त गर्नुभयो।
नगर प्रमुख अधिकारीले मन्तव्य दिँदै भन्नुभयो,
“खेलकुदले देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्वपूर्ण माध्यम हो। तपाईंहरूको सहभागिताले बुढानीलकण्ठ मात्र होइन, सम्पूर्ण देशको गौरव बढाउने विश्वास लिएको छु। अनुशासन, मेहनत र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्नुहोस्।”
त्यसैगरी उप–प्रमुख अनिता लामाले खेलाडीहरूलाई हौसला दिँदै भनिन्,
“युवा खेलाडीहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपस्थिति प्रेरणादायी छ। खेल जित–हारभन्दा पनि देश र नगरको नाम उज्यालो बनाउने अवसरका रूपमा लिनुहोस्। सम्पूर्ण नगर तपाईंहरूको साथमा छ।”
नगरपालिकाको तर्फबाट टिमलाई सफल यात्राको कामनासहित शुभकामना प्रदान गरिएको थियो। प्रतियोगितामा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै देश र बुढानीलकण्ठ नगरपालिकाको गौरव बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया