काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताहरूप्रति कडा कटाक्ष गर्दै आफूविरुद्ध लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।
पार्टी समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलहरू एकजुट भएर रास्वपामाथि आक्रमण गरिरहेको आरोप लगाए। उनले आफूलाई राजनीतिक रूपमा समाप्त पार्ने उद्देश्यले योजनाबद्ध ढंगले मुद्दा लगाइएको दाबी गरे।
सभामा बोल्दै उनले भने,
“मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो, तर यति ठूलो खाल्डो खन्नु भयो कि तपाईंहरूलाई नपुरी सुखै छैन।”
उनले पुराना दलका नेताहरूले निर्वाचन हुन नदिन षड्यन्त्र गर्न सक्ने संकेत गर्दै त्यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरे। लोकतान्त्रिक प्रक्रियालाई अवरोध गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो।
रास्वपालाई समर्थन गर्न आह्वान
लामिछानेले यसअघि अन्य दललाई मतदान गर्दै आएका मतदातालाई यसपटक रास्वपालाई मौका दिन आग्रह गरे।
उनले मतदातासँग पुराना दललाई एकपटक प्रतिपक्षमा बस्न दिने गरी सोच्न समेत अनुरोध गरे।
“म तपाईंहरू सबैलाई भन्छु, पुराना दलका नेतालाई कटाक्ष गर्न छोडिदिनुस्। पुराना दलका नेताले पनि हाम्रो पार्टीको बारेमा अनावश्यक चिन्ता लिनुपर्दैन,” उनले भने,
“तपाईंहरूले संसद्लाई बजेट भाषणबाहेक हेर्न नमिल्ने बनाउनु भयो। युवा पुस्ताले आँखा झिमिक्क नगरी हेर्न मिल्ने संसद् बनाउने रास्वपा हो।”
अर्थतन्त्र र मनोबल उकास्ने दाबी
सभापति लामिछानेले रास्वपाले गिरेको जनताको मनोबल र कमजोर बनेको अर्थतन्त्र उकास्ने दाबी गरे।
उनका अनुसार पार्टीभित्रका नेताहरू राजनीतिक रूपमा क्रमशः परिपक्व बन्दै गएका छन् र अब जिम्मेवारी वहन गर्न सक्षम भइसकेका छन्।
उनले रास्वपाको उदयलाई पुरानो राजनीतिक संस्कारप्रतिको जनअसन्तुष्टिको परिणाम भएको उल्लेख गर्दै वैकल्पिक राजनीतिमार्फत देशलाई नयाँ दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया