काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अब पूर्णरूपमा निर्वाचनतर्फ केन्द्रित भइसकेको बताएका छन्। प्रेस सेन्टरले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अहिलेकै सरकारले प्रतिनिधिसभा निर्वाचन गराउने स्पष्ट दाबी गरे।
संयोजक दाहालका अनुसार निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन्, जसले देश औपचारिक रूपमा चुनावी प्रक्रियामा प्रवेश गरिसकेको पुष्टि गर्छ। “अब देश चुनावतर्फ होमिसकेको छ,” उनले भने।
जेनजी युवापुस्ता निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै दाहालले चुनावको विषयमा कुनै अन्योल नरहेको बताए। उनले वर्तमान अवस्थामा सर्वपक्षीय वा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी पनि गरे।
काठमाडौँ फर्किनुअघि पत्रकारहरूसँग कुरा गर्दै दाहालले अहिलेको सरकारले नै फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताए। निर्वाचन प्रक्रिया सुरु भइसकेकाले संसद् पुनःस्थापनाको कुनै सम्भावना नरहेको उनको भनाइ थियो।
संविधान संशोधनबारे बोल्दै उनले संविधानसभाबाट संविधान निर्माण गर्दा गरिएको प्रतिबद्धता स्मरण गराए। “संविधान बनाउँदा नै हामीले १० वर्षपछि समीक्षा गर्ने वाचा गरेका थियौँ। संविधानका सकारात्मक र नकारात्मक पक्षका आधारमा संशोधन र परिमार्जन गर्ने कुरा त्यतिबेलै तय गरिएको हो,” दाहालले भने।
जेनजी आन्दोलनको मर्म र भावनाअनुसार अहिलेका राजनीतिक दलहरू नयाँ जनादेशमा जानुपर्ने आवश्यकता रहेको भन्दै दाहालले निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने पनि स्पष्ट पारे।
प्रतिक्रिया