काठमाडौं । १३ मंसिर २०८२ मा ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ को लेटरहेड प्रयोग गरी १० जना उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै विज्ञप्ति जारी गर्ने काभ्रे तेमाल गाउँपालिका–१ का ३३ वर्षीय प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्।
‘चेयरमेन’ प्रकाश पाठक उल्लेख गरिएको उक्त धम्कीपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई हत्या गर्ने चेतावनी दिइएको थियो।
धम्की जारी भएको दुई दिनपछि, १५ मंसिर २०८२ मा पाठकले फिलिपिन्सबाट भिडियो सन्देश सार्वजनिक गर्दै पुनः उही धम्की दोहोर्याएका थिए। भिडियोमा उनले अख्तियार प्रमुख राईदेखि नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसम्मलाई ज्यान मार्ने धम्की दिएका थिए।
आतंकवादी गतिविधिको झल्को दिने उक्त पत्रमा भदौ २४ गते विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई हत्या कार्यमा परिचालन गरिने उल्लेख गरिएको थियो। पाठकद्वारा हस्ताक्षरित पत्रमा भनिएको थियो,
“यो काम हामीले गर्ने छैनौँ, भागेका कैदीहरूले गर्नेछन्। हामी उनीहरूलाई आर्थिक सहयोग गर्नेछौँ र घटनाको जिम्मेवारी हामी लिनेछौँ।”
धम्की सार्वजनिक भएलगत्तै १८ मंसिरमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ती १० उच्चपदस्थ व्यक्तिका निवास, भ्रमण मार्ग र कार्यक्रमस्थलमा सुरक्षा सतर्कता बढाउन सर्कुलर जारी गरेको थियो।
पाठकसँग ‘कनेक्सन’ देखिएका तीन जनालाई प्रहरीले पक्राउ गर्यो। धादिङका शरणजंग शाही, सर्लाहीका तोरण थापा मगर र बर्दियाका धिरेन्द्र सुनार पक्राउ परेका थिए।
प्रहरी अनुसन्धानका क्रममा पाठकविरुद्ध सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गर्दा उनीमाथि चार वटा आपराधिक कसुरमा मुद्दा चलेको खुलेको छ। यसअघि केही एमाले नेताहरूसँग उनको निकट सम्बन्ध रहेको तथ्य पनि अनुसन्धानमा देखिएको प्रहरी स्रोत बताउँछ।
निरन्तर धम्की दिएपछि जिल्ला अदालत काठमाडौंले १ डिसेम्बर २०२५ मा पाठकविरुद्ध आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो। साथै, इन्टरपोलमार्फत जबरजस्ती असुली र आपराधिक षड्यन्त्र अभियोगमा ‘डिफ्युजन नोटिस’ समेत जारी गरिएको थियो।
नेपाल प्रहरीको निरन्तर प्रयासपछि आइतबार (१९ पुस २०८२) मा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) ले पाठक पक्राउ परेको पुष्टि गरेको हो।
बीआईको भगौडा खोजी इकाइ (एफएसयू) ले फिलिपिन्स नेसनल पुलिस (पीएनपी) सँग संयुक्त कारबाही गर्दै बुलाकान प्रान्तको मालोलोस सिटीबाट पाठकलाई पक्राउ गरेको जनाएको छ।
बीआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
“अनुसन्धानबाट उक्त व्यक्ति विदेशमा रहेका गम्भीर सुरक्षा–सम्बन्धी गतिविधिसँग जोडिएको देखिएको छ। उनले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साएको, आर्थिक सहयोगको प्रस्ताव गरेको, हतियारमा पहुँच रहेको तथा एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या षड्यन्त्रमा समेत संलग्न रहेको पाइएको छ।”
बीआईका अभिलेखअनुसार पाठक सन् २०२५ अगस्ट १८ मा फिलिपिन्स पुगेका थिए र डिसेम्बर १८ सम्म बस्न अनुमति पाएका थिए। प्रहरी उच्च स्रोतका अनुसार पुसको पहिलो सातामै पीएनपीले उनलाई ‘होल्ड’ मा राखेको थियो तर पछि छाडिएको थियो।
छोडिएपछि पाठकले भिडियो सन्देश जारी गर्दै पीएनपीले पक्राउ प्रयास गरे पनि आफू ‘उपल्लो तहको शक्ति र कनेक्सन’ का कारण छुटेको दाबी गरेका थिए।
प्रहरीका अनुसार पाठकले फिलिपिन्स, मलेसिया, श्रीलंका र भारतलगायतका देशमा पटक–पटक यात्रा गरेको देखिएको छ। यी सबै तथ्यले उनी कसैको योजनामा परिचालित भएको आशंका बलियो बनाएको प्रहरी अधिकारीहरू बताउँछन्।
विशेषगरी उनले अख्तियार प्रमुख प्रेमकुमार राईलाई केन्द्रमा राखेर बारम्बार धम्की दिएको देखिएकाले भ्रष्टाचार मुद्दामा संलग्न वा अनुसन्धानको घेरामा रहेका व्यक्तिहरूबाट सुपारी पाएर धम्की दिएको हुनसक्ने प्रहरीको आशंका छ।
हाल पाठक फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको हिरासतमा रहेका छन्। उनलाई नेपाल ल्याएपछि विस्तृत अनुसन्धानबाट उनी कसको निर्देशनमा चलेका थिए भन्ने कुरा खुल्ने प्रहरी अधिकारीहरूको भनाइ छ।
प्रतिक्रिया