विशेष महाधिवेशनको बहस चर्किँदा कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०८२, शुक्रबार ०६:५९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा औपचारिक रूपमा विशेष महाधिवेशनतर्फ अघि बढेपछि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेका छन्।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार बैठक शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपा, काठमाडौँमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको बाटोमा जानुपर्ने धारणा सार्वजनिक गरेसँगै कांग्रेसभित्र आन्तरिक बहस चर्किएको छ। यसै सन्दर्भमा सभापति देउवाले बिहीबार दिउँसो कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखकलगायत नेताहरूसँग परामर्श बैठक गरेका थिए। साथै, देउवाले शुक्रबार बिहान आफ्ना पक्षीय नेताहरूको छुट्टै बैठक पनि बोलाएका छन्।

कांग्रेस विधानअनुसार ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, तथा आठ जना सहमहामन्त्रीहरू रहेका छन्। सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार छन्।

विशेष महाधिवेशनलाई लिएर पार्टी नेतृत्वबीच मतभेद देखिन थालेको यो अवस्थामा कार्यसम्पादन समितिको बैठकलाई कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

प्रतिक्रिया