काठमाडौं । भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीलाई औपचारिक रूपमा चिठी पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
अध्यक्ष कार्कीले भने, “हामी उहाँलाई चिठी काट्दैछौं। बयानका लागि बोलाउने क्रममा छौं।” ओली आयोगमा उपस्थित नभए के गर्ने भन्ने प्रश्नमा उनले भने, “आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।”
आयोगका अनुसार निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान प्रक्रिया पूरा भइसकेको छ। बयान सकिएलगत्तै लेखकविरुद्ध लगाइएको स्थान हद फुकुवा गर्ने तयारीसमेत भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए।
यता, पूर्वप्रधानमन्त्री ओलीले भने जाँचबुझ आयोगलाई नै अवैधानिक ठहर गर्दै बयान नदिने अडान लिएका छन्। एमालेको तेस्रोपटक अध्यक्ष निर्वाचित भएपछि दिएको एक अन्तर्वार्तामा ओलीले आयोगको प्रक्रियाप्रति कडा टिप्पणी गर्दै आफू बयान दिन नआउने बताएका थिए। उनले अत्यन्तै आक्रामक शैलीमा “बरु गोली खान र जेल जान तयार” रहेको अभिव्यक्ति दिएका थिए।
ओलीको यस अभिव्यक्तिपछि आयोगको वैधानिकता, राजनीतिक जिम्मेवारी र कानुनी प्रक्रिया सम्बन्धी बहस थप चर्किएको छ। अब आयोगले ओलीलाई औपचारिक रूपमा पत्राचार गरेपछि उनको प्रतिक्रिया र उपस्थितिले यो प्रकरणले कुन मोड लिन्छ भन्ने चासो बढेको छ।
प्रतिक्रिया