काठमाडौं । नेपाल अहिले राजनीतिक संक्रमणको कालमा छ। २०२५ सालको सेप्टेम्बर ७ मा “Gen Z protests” नामक ठूलो युवा आन्दोलनले भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध, अनियमित शासन र युवाहरूको निराशालाई मुख्य मुद्दा बनाएको थियो। आन्दोलनले सेप्टेम्बर ८ मा हिंसात्मक रूप लिँदा प्रधानमन्त्री के.पी. शर्मा ओलीको पदत्यागसम्म गरायो। यस क्रममा संसद भवन, सिहदरवार सर्वोच्च अदालत, व्यवसायिक संस्थान र निजी सम्पत्ति जलेर ध्वंस भएको थियो।
आन्दोलनपछि असंबैधानिक सरकार गठन र संसद विघटनले नेपाली राजनीतिको अस्थिरता थप बढाएको छ। सरकारले १०० दिनमा जनताको समय र शक्ति बर्बाद गरेको आरोप छ। नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा पार्टीले आलोचना र सुधार गर्ने समय सकिएको छ। अब मुलुकलाई स्थिर र दीर्घकालीन नेतृत्व दिने उद्देश्यले नयाँ राजनीतिक दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता देखिएको छ।
संसद विघटन र अन्तरिम सरकार गठनले संविधान र लोकतान्त्रिक व्यवस्थामा विवाद र असन्तुष्टि सिर्जना गरेको छ। मुख्य राजनीतिक दलहरू (नेपाली कांग्रेस, एमाले आदि) भित्रको मतभेद र चुनाव सहभागितामा असहमति अझै जारी छन्। दलहरू भित्र र बाहिर नेतृत्वमा अविश्वासको कारण स्थिर गठबन्धन र दीर्घकालीन नेतृत्व विकासमा बाधा परेको छ। पारम्परिक दलहरूले युवापुस्तासँग सम्बन्ध कायम गर्न असफल भएको आरोप बढ्दै गएको छ, जसले नयाँ राजनीतिमा नागरिकहरूको सहभागितामा शंका सिर्जना गरेको छ।
नेपालको वर्तमान संकट भावनात्मक दृष्टिकोणबाट होइन, वैचारिक स्पष्टता र निर्णायक कार्यान्वयनबाट समाधान हुन्छ। यसका लागि जन नेता मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादी सिद्धान्त महत्वपूर्ण मार्गदर्शन हो। बहुदलीय प्रतिस्पर्धा, संवैधानिक शासन, जनअधिकार र सामाजिक न्याय स्वीकार गर्दै समाजवादतर्फ शान्तिपूर्ण लोकतान्त्रिक रूपान्तरण गर्नु नै नेपाली मौलिक राजनीतिक सिद्धान्त हो।
आजको तत्कालिक आवश्यकता संविधानको रक्षा र संसद पुनर्स्थापना तथा निष्पक्ष निर्वाचनको सुनिश्चितता हो। असंबैधानिक र बेवारिस सरकारको सट्टा जेन्जी र दलको स्वामित्व भएको सर्वदलिय सरकार बनाउनु अपरिहार्य छ। यसले समयमै निष्पक्ष निर्वाचन गराउन र संवैधानिक निर्णयहरूको स्वतन्त्र न्यायिक समीक्षा सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
राजनीतिक दलले नेतृत्व पुनर्संरचना गर्ने अधिकार महाधिवेशनको माध्यमबाट प्राप्त हुन्छ। नयाँ वा पुराना नेतृत्व चयन गर्ने निर्णय दलका सदस्यको हो। जनताको चाहना योग्य र युवा नेतृत्वलाई नीति निर्माणको केन्द्रमा ल्याउनु रहेको छ। युवालाई आन्दोलनको शक्ति मात्र नभई निर्णयमा साझेदार बनाउनु, नेतृत्वमा भर्ना गरी प्रशिक्षित गर्नु, जवाफदेही बनाउनु र विश्वास गर्नु अहिलेको आवश्यकता हो।
व्यक्ति होइन, संस्था बलियो बनाउनु पर्छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनु, दलभित्र लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता सन्तुलित गर्नु जरुरी छ। दस्तावेजमा मात्र होइन, व्यवहारमा कार्यान्वयनको अनिवार्यतालाई प्राथमिकता दिनुपर्छ।
लोकतन्त्र नाराले होइन, आचरणले बाँच्छ। संविधानको सम्मान, युवाको सहभागिता, सुशासन र भ्रष्टाचार मुक्त समाज अहिलेको आवश्यकतामा पर्छ। राजनीतिक दलको जवाफदेहीता र उत्तरदायी राजनीति नै नेपालको वर्तमान संकट मोचन गर्ने मार्ग हो।
लेखक: आनन्द पोखरेल
प्रतिक्रिया