काठमाडौं । भारतलाई १ सय ९१ रनले पराजित गर्दै पाकिस्तानले एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि जितेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित आईसीसी एकेडेमी मैदानमा सम्पन्न फाइनल खेलमा पाकिस्तानले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६ ओभर २ बलमै १ सय ५६ रनमा समेटिँदै अलआउट भयो। भारतका दीपेश देवेन्द्रनले १६ बलमा सर्वाधिक ३६ रन बनाए। बलिङतर्फ पाकिस्तानका अली राजाले ४ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको बलियो योगफल तयार गरेको थियो। पाकिस्तानका समीर मिन्हासले उत्कृष्ट प्रदर्शन गर्दै ११३ बलमा १७२ रनको शतकीय इनिङ्स खेले। अहमद हुसेनले ५६ रनको योगदान दिए। भारतका दीपेश देवेन्द्रनले बलिङतर्फ ३ विकेट लिए।
यस जितसँगै पाकिस्तानले दोस्रो पटक एसीसी १९ वर्षमुनिको एशिया कपको उपाधि हात पारेको छ। यसअघि सन् २०१२ मा पाकिस्तान भारतसँग संयुक्त रूपमा विजेता बनेको थियो।
सेमिफाइनलमा भारतले श्रीलङ्कालाई पराजित गरेको थियो भने पाकिस्तानले बङ्गलादेशलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। भारत र पाकिस्तान एउटै समूहमा रहेका थिए, जहाँ समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ९० रनले हराएको थियो।
उक्त प्रतियोगितामा नेपालले पनि सहभागिता जनाएको थियो। तर नेपालले समूह चरणमा एक खेल पनि जित्न नसक्दै प्रतियोगिताबाट बाहिरिनुपरेको थियो। प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको थियो।
प्रतिक्रिया