आनन्द पोखरेल । नेकपा (एमाले) को ११औँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ। महाधिवेशनले निर्वाचनमार्फत अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। संगठनात्मक रूपमा हेर्दा महाधिवेशन सम्पन्न हुनु आफैँमा उपलब्धि हो, तर राजनीतिक रूपमा उठ्ने मूल प्रश्न अझै बाँकी छ— के यो महाधिवेशनले पार्टी, नेतृत्व र जनताबीचको बढ्दो खाडल पुर्न सकेको छ ?
महाधिवेशनको क्रममा ओली पक्ष, पोखरेल पक्ष र कुनै सूचीमा नअटाउने स्वतन्त्र धार गरी तीन प्रवृत्ति देखिए। विशेषगरी स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले पार्टीभित्र असन्तुष्टि, बेचैनी र विश्वासको संकट स्पष्ट रूपमा उजागर गर्यो। प्रतिस्पर्धा सहज देखिए पनि अनधिकृत दबाब, सूची आधारित निर्वाचन, ‘लाइक–डिसलाइक’ संस्कृतिका कारण पराजित धेरै कमरेडको मन अमिलो भएको अनुभूति भयो। “हामीलाई एमाले बन्नै दिइएन”, “स्वतन्त्र निर्वाचन हुन दिएनन्” भन्ने गुनासोहरू गम्भीर संकेत हुन्, जसलाई हल्का रूपमा लिनु हुँदैन।
ओली पक्षले ‘क्लिन स्वीप’ गरेको चर्चा छ। तर कमिटी जित्नु मात्र राजनीतिक विजय होइन। पार्टीभित्र सबैको विश्वास जित्नु, नीति र नेतृत्वप्रति भरोसा जगाउनु र मन मिलाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो। हाम्रो उद्देश्य केवल कमिटी कब्जा गर्नु होइन, राजनीतिक प्रतिस्पर्धामा जनताको समर्थनसहित श्रेष्ठता हासिल गर्नु हो।
आज पार्टी, नेतृत्व र जनताबीच ठूलो खाडल छ। यो खाडल पुर्न पहिलो कर्तव्य जनताको विश्वास पुनःआर्जन गर्नु हो। पार्टी कमिटीका निर्णय र परिपत्रले मात्र चल्छ भन्ने मान्यताको भ्रम अझै गहिरो छ। तर कमिटीमा नपरेका नेता–कार्यकर्ता, सदस्य, समर्थक, शुभेच्छुक र आम जनतासँगको सम्बन्ध र विश्वास गोलबन्द गर्न नसकिएसम्म राजनीतिक विजय सम्भव हुँदैन। जनतालाई जित्नु नै विजयको पहिलो खुड्किलो हो।
महाधिवेशनका प्रतिस्पर्धीलाई विश्वासमा लिनु अर्को महत्त्वपूर्ण कार्य हो। क्षमता अनुसार जिम्मेवारी दिनु, पक्षपातपूर्ण व्यवहारको अनुभूति हुन नदिनु, इतिहास, मर्यादा, क्षमता र कार्यसम्पादनका आधारमा निष्पक्ष मूल्याङ्कन गर्नु सके पार्टीको आन्तरिक एकता बलियो हुन्छ। त्यसले नेतृत्वप्रति भरोसा बढाउँछ। तर व्यवहारमा यस्तो परिपक्व मानसिकता अझै स्पष्ट देखिएको छैन।
दोस्रो ठूलो चुनौती पार्टीलाई जरा सम्म पुर्याउनु हो। यसका वाहक सुदृढ विचार, स्पष्ट नीति र नेतृत्वप्रति आत्मविश्वासी कार्यकर्ताको पंक्ति हो। जुझारु, अनुशासित र लडाकु संगठन, जनमुखी कार्यक्रम र जनताका एजेन्डा बिना पार्टी बलियो हुँदैन। सिद्धान्त, नीति र कार्यक्रम जतिसुकै राम्रो भए पनि तिनलाई बोकेर हिँड्ने र कार्यान्वयन गर्ने नेतृत्व र कार्यकर्ता नभए ती सबै कागज र परिपत्रमै सीमित हुन्छन्।
विगतमा एमालेभित्र माथिल्लो नेतृत्वप्रति असन्तुष्टि र अविश्वास मौलाएको अनुभव छ। मातहत कमिटीहरू औपचारिकतामा सीमित हुने, जिम्मेवारी पन्छाउने, राम्रो प्रतिवेदन बुझाएर नेतृत्व ‘खुसी’ पार्ने, कान भर्ने, फोटो पोस्ट र प्रचार–सेलिब्रेटी संस्कृतिले स्थान पाउने प्रवृत्ति बढ्दै गयो। यसले पार्टीलाई जरामा होइन, भुइँफुट्टातिर धकेलेको यथार्थ नकार्न सकिँदैन।
अब पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जनस्तरमा नपुर्याई कुनै विकल्प छैन। त्यसका लागि संगठन सुदृढीकरण, विचारआधारित प्रशिक्षण, नेतृत्व विकास, जनताको एजेन्डा उठाउने, जनताको कुरा सुन्ने संस्कार विकास गर्नु आवश्यक छ। प्रविधिको सकारात्मक प्रयोग, निर्वाचित जनप्रतिनिधिको प्रभावकारी परिचालन, सामुदायिक पार्टी काम, सामाजिक–सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता अनिवार्य हुनुपर्छ।
गुटबन्दी अन्त्य, डिजिटल प्रचार–प्रसार, सामाजिक सेवा, विपद् व्यवस्थापन, स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ जस्ता कार्यक्रममार्फत पार्टीको भूमिका जनताले अनुभूति गर्ने गरी प्रस्तुत हुनुपर्छ। स्थानीय समस्या समाधानका लागि सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्छ। युवा र महिलाको सक्रिय परिचालन गर्दै स्थानीय विकासका मुद्दालाई केन्द्रमा राखेर काम गर्न सके तल्लो तहसम्म विश्वास र समर्थन हासिल गर्न सकिन्छ।
अन्ततः जनतासँगको सहकार्य, आत्मीयता, जनमुखी काम र जनविश्वास नै सफलताको वास्तविक द्योतक हो। प्रत्येक टोलमा पार्टीको समाजसेवा इकाई गठन गर्ने, नियमित समीक्षा र अनुगमन गर्ने, आलोचना र आत्मालोचना पद्धति व्यवहारमा उतार्ने हो भने मात्र ११औँ महाधिवेशन सार्थक ठहरिनेछ।
अब प्रश्न महाधिवेशन सम्पन्न भयो कि भएन भन्ने होइन,
जनता पार्टीसँग जोडिए कि जोडिएनन् भन्ने हो।
प्रतिक्रिया