अमेरिकाबाट ७५ जना नेपाली दाजुभाइ–दिदीबहिनी निष्कासन भएर नेपाल फर्काइएको खबर केवल समाचार होइन, यो हजारौँ नेपाली युवाको सपना, संघर्ष र पीडाको प्रतिनिधि कथा हो। निष्कासनको पीडा, अनिश्चित भविष्यको डर र समाजको दृष्टिले हेर्ने मानसिक बोझ म गहिरोसँग बुझ्छु।
हामी कसैले चोरी, ढाँट वा लुटपाट गर्न विदेश गएका थिएनौँ। आफ्नै पसिना, परिवारका सपना र ठूलो लगानी बोकेर गएका थियौँ। तर परिस्थिति अनुकूल रहेन, समयले साथ दिएन र हामी फर्किन बाध्य भयौँ।
प्रिय दाजुभाइ–दिदीबहिनीहरू,
समाजले के भन्ला भनेर आफ्नो आत्मविश्वास नमार्नुहोस्। कोठाभित्र लुकेर आत्मग्लानीमा आफैँ नजल्नुहोस्। तपाईंको असफलता तपाईंको कमजोरी होइन, यो परिस्थितिको परिणाम हो।
लाखौँ, करोडौँ डुबेका होलान्,
तर सम्झनुहोस् — डुबेको पैसा हो, जिन्दगी होइन।
पैसा फेरि कमाउन सकिन्छ,
तर गुमेको आत्मविश्वास फर्काउन कठिन हुन्छ।
लड्नु भएको छ भने अब धुलो टक्टकाएर उठ्नुस्।
तपाईंलाई गिज्याउनेहरूका अगाडि शिर झुकाएर होइन,
तिनका नकारात्मक सोचलाई चिर्दै अगाडि बढ्नुस्।
म पनि लडेर उठेको हुँ,
तपाईं पनि उठ्न सक्नुहुन्छ।
आउनुहोस्, फेरि उठौँ।
आउनुहोस्, फेरि अघि बढौँ।
जिन्दगी अझै बाँकी छ।
किनकि —
डुबेको पैसा हो, जिन्दगी होइन।
प्रतिक्रिया