काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउँदै उमेर हद पुगेका दुई जना स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक बिदाई दिएको छ भने वडामा उत्कृष्ट कार्य गरेका १३ जनालाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ।
६० वर्षे उमेर हद पुगेका गोकर्णेश्वर–१ की सुशीला श्रेष्ठ र गोकर्णेश्वर–९ की चन्द्रिका घिमिरेलाई नगरपालिकाले सम्मानजनक बिदाई दिएको हो। बिदाई स्वरूप नगरपालिकाबाट जनही ३० हजार र जनस्वास्थ्य कार्यालय टेकुले जनही २० हजार गरी एकमुष्ट ५०–५० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।
आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य गरेबापत वडाका सुजाता दाहाल, शान्ति खड्का, मिना रानाभाट, धनकान्छी श्रेष्ठ, सानु नगरकोटी, सरला श्रेष्ठ, अम्बिका निरौला, जयन्ति थापा, रुपा अधिकारी, कविता घिमिरे, सुशीला अधिकारी, मायादेवी बास्तोला र लक्ष्मी अर्याललाई नगरपालिकाले नगद तथा प्रमाणपत्रसहित सम्मान गरेको छ।
औपचारिक कार्यक्रम नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यता र नगर उपप्रमुख सान्नानी लामाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा गोकर्णेश्वर–६ का वडा अध्यक्ष नवराज लामा, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय र विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा नगरपालिकाले सबै स्वयंसेविकालाई व्याग, पानीको बोतल, परिचयपत्र र छाता वितरण गरेर सम्मान गरेको छ।
प्रतिक्रिया