काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका देशमै पहिलोपटक कलेजो र पेंक्रियाज (Liver & Pancreas) सम्बन्धी रोगको विशेष उपचारका लागि १०० शैयाको आधुनिक नगर अस्पताल निर्माण गर्ने प्रक्रियामा उल्लेखनीय रूपमा अगाडि बढिरहेको छ। नगर क्षेत्रमै उच्चस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यसहित अहिले अस्पताल स्थापनाको सम्भाव्यता अध्ययन (Feasibility Study) तीव्रगतिमा चलिरहेको नगरपालिका स्रोतले जनाएको छ।
नगर प्रमुख उपेन्द्र कार्की का अनुसार, कलेजो, पित्तथैली तथा पेंक्रियाजसम्बन्धी समस्याले नेपालमा धेरै नागरिक प्रभावित भए पनि विशेषज्ञ सेवा अत्यन्त सीमित भएको अवस्थामा नगरपालिका आफैँबाट अत्याधुनिक अस्पताल निर्माण गर्ने निर्णय ऐतिहासिक र दूरदर्शी कदम हो।
नगर प्रमुख कार्कीले भने– “अस्पताल निर्माणका लागि धेरै काम अगाडि बढिसकेको छ। नगरभरिका जनताले गुणस्तरीय सेवा लिन पाउने उद्देश्यले हामीले भव्य र आधुनिक नगर अस्पताल निर्माणको तयारीलाई प्राथमिकतामा राखेका छौँ। कलेजो तथा पेंक्रियाजको उपचारका लागि देशभर सीमित सेवा रहेको अवस्थालाई परिवर्तन गर्न कागेश्वरी मनोहराले अगुवाइ गरेको छ।”
उनका अनुसार अस्पताल निर्माण भएपछि स्थानीय बासिन्दाले उपचारका लागि काठमाडौं उपत्यकाको निजी महँगा अस्पताल वा विदेश धाउनुपर्दैन। नगरमै डायग्नोस्टिक, सर्जरी, ICU, अत्याधुनिक परीक्षण, प्रत्यारोपणसम्बन्धी सेवा उपलब्ध हुने गरी योजना बनाइएको छ।
के–के हुँदैछ अहिले?
अस्पतालका लागि आवश्यक जग्गा, पूर्वाधार र अनुमानित लागत सम्बन्धी अध्ययन अन्तिम चरणमा
स्वास्थ्य पूर्वाधारमा केन्द्र–प्रदेशसँग सहकार्यका लागि समन्वय प्रक्रिया सुरु
विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापनको खाका तयार
नगर स्वास्थ्य नीतिसँग अस्पताललाई जोड्ने कार्य अघि बढ्दै
स्थानीयको जीवनस्तरमा ठूलो प्रभाव
यस अस्पताल निर्माणपछि कागेश्वरी मनोहरा मात्र होइन, आसपासका नगरपालिका, उपत्यका र बाहिरी जिल्लाका नागरिकले पनि उच्चस्तरीय, भरपर्दो र किफायती सेवा पाउन सक्नेछन्। विशेषगरी कलेजो, पित्तथैली तथा पेंक्रियाज सम्बन्धी उपचार जटिल र महँगो हुने भएकाले नगरको यो परियोजना सामाजिक–आर्थिक रूपमा समेत अत्यन्त महत्वपूर्ण देखिन्छ।
नगर प्रमुख कार्कीले थप भने— “हामी नगरकै मात्रै होइन, देशकै आवश्यकता पूरा गर्ने खालको अस्पताल निर्माण गर्दैछौँ। नगरवासीको स्वास्थ्यका लागि आवश्यक सबै पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध छ।”
कागेश्वरी मनोहरा नगरपालिकाको यो पहल नेपालमा विशेष प्रकारका रोग उपचारका लागि स्थानीय सरकार आफैँले अग्रसर भएको उदाहरणीय परियोजना बन्न सक्नेछ। सम्भाव्यता अध्ययन पूरा भएसँगै निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। नगरपालिका अनुसार आगामी वर्षदेखि अस्पताल निर्माण स्थलगत तयारी देखिनेछ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिंदै भविष्यको माइलस्टोन परियोजना भनेर हेरिएको यो अस्पताल अब कागेश्वरी मनोहराको पहिचानकै रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया