काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकामा वर्षा पानी संकलन (Rainwater Harvesting) प्रणालीलाई दिगो समाधानका रूपमा अघि बढाउन नगरपालिकाले निर्णायक पहल थालेको छ। मिति २०८२ माघ ९ गते, मङ्गलबार, नगर प्रमुख मिठाराम अधिकारी तथा UNEP (United Nations Environment Programme) का प्रतिनिधिहरू सहभागी रहेको वातावरणीय छलफल कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बुढानिलकण्ठ क्षेत्रमा तीव्र भएको शहरीकरण, पानीको बढ्दो अभाव, भू–उपयोगको दबाब तथा जलस्रोत संरक्षणका चुनौतीबारे गहन कुराकानी भयो। नगर प्रमुख अधिकारीले “जलस्रोत संरक्षण हाम्रो प्राथमिकता हो” भन्दै विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन तथा नयाँ निर्माणहरूमा रेन हार्भेस्टिङ प्रणाली अनिवार्य गर्ने तयारी नगरपालिका अग्रसर रहेको जानकारी दिए।
UNEP का प्रतिनिधिहरूले वर्षा पानी संकलन एवं पुनःप्रयोगका प्रभावकारी मोडेलहरू प्रस्तुत गर्दै घर–घरमा लागू गर्न सकिने प्रविधि, सार्वजनिक संरचनामा अपनाइने अन्तर्राष्ट्रिय अभ्यास तथा सामुदायिक तहमा अभिमुखिकरण कार्यक्रमका आवश्यकताबारे सुझाव दिए।
उनीहरूले शहरी क्षेत्रमा वातावरणमैत्री अभ्यास विस्तार गर्न स्थानीय सरकारको अग्रसरता महत्वपूर्ण हुने उल्लेख गरे।
कार्यक्रममा सहभागीहरूले बुढानिलकण्ठमा बढ्दो पानी संकट समाधान गर्न वर्षा पानी संकलन नै दीगो विकल्प भएको निष्कर्ष निकाले। छलफलमार्फत नगरपालिका र UNEP बीच दिगो जलव्यवस्थापन, वातावरणीय शिक्षा, जलस्रोत संरक्षण तथा समुदाय–केंद्रित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहकार्य विस्तार गर्ने आधार तयार भएको नगरपालिकाले जनाएको छ।
बुढानिलकण्ठ नगरले अब दिगो र वातावरणमैत्री जलव्यवस्थापनतर्फ स्पष्ट पहल गरेको संकेत गरिएको छ।
प्रतिक्रिया