काठमाडौँ । नयाँ सोच, नयाँ ऊर्जा र नयाँ प्रतिबद्धताका साथ कागेश्वरी मनोहरा नगर अस्पतालमा आजदेखि सेवा आरम्भ गर्न आउनु भएका कर्मचारीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
स्वागत कार्यक्रममा आदरणीय नगर प्रमुखज्यू, नगर प्रवक्ता ज्यू, अस्पतालका कार्यकारी निर्देशकज्यू तथा मेडिकल सुपरिटेन्डेन्टज्यूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले नयाँ कर्मचारीज्यूहरूलाई हार्दिक स्वागत गर्दै नगर अस्पतालको सेवा प्रणाली, कार्यसंस्कृति र नागरिकप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे विस्तृत मार्गदर्शन प्रदान गर्नुभयो।
नगर प्रमुखज्यूले नागरिकमैत्री, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै इमानदारी, संवेदनशीलता र जिम्मेवारीबोधका साथ सेवा दिन आग्रह गर्नुभयो। उहाँले नगर अस्पताललाई विश्वासिलो र उदाहरणीय स्वास्थ्य संस्थाको रूपमा विकास गर्न सबै कर्मचारीहरूको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।
नगर प्रवक्ता ज्यूले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै दक्ष जनशक्तिको आगमनसँगै सेवा प्रवाह अझ प्रभावकारी र जनमुखी बन्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यकारी निर्देशकज्यू तथा मेडिकल सुपरिटेन्डेन्टज्यूले अस्पतालको कार्यविधि, सेवा संरचना, पेशागत आचारसंहिता र टोलीभावनाको महत्वबारे जानकारी गराउँदै नयाँ कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न प्रेरित गर्नुभयो।
स्वागत कार्यक्रमले नयाँ कर्मचारीहरूमा उत्साह, अपनत्व र सेवाप्रतिको प्रतिबद्धता थप मजबुत बनाएको सहभागीहरूको प्रतिक्रिया थियो। नगर अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय, पारदर्शी र जनउत्तरदायी स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया