काठमाडौं । नेपाल प्रहरीका ३३औँ प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की आफ्नो साहस, व्यावसायिकता र नेतृत्व क्षमताका कारण परिचित प्रहरी अधिकृत हुन्। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उनी देशको सर्वोच्च प्रहरी पद— प्रहरी महानिरीक्षक—मा पदोन्नति भएका हुन्।
जीवन र परिवार
गुल्मी जिल्लाको साविक घमिर–५ (हाल मालिका गाउँपालिका–७) मा पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखबाट वि.सं. २०२९ साउन १५ गते जन्मिएका कार्कीका श्रीमती नविना कार्की र दुई छोरी छन्।
सेवा यात्राको सुरुवातदेखि नेतृत्वसम्म
कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए। संगठनमा इमानदार, दृढ र जिम्मेवार अधिकृतको रूपमा परिचित कार्की क्रमशः
२०६६ मङ्सिर २६ मा प्रहरी नायव उपरीक्षक,
२०७४ साउन १९ मा प्रहरी उपरीक्षक,
२०७९ साउन ३ मा प्रहरी वरिष्ठ उपरीक्षक,
२०८१ जेठ १३ मा प्रहरी नायव महानिरीक्षक,
र २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)
भएर उच्च पदसम्म उक्लिएका थिए।
शैक्षिक योग्यता र तालिम
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २२ भन्दा बढी उच्चस्तरीय तालिमहरू प्राप्त गरेका छन्। तीमध्ये राष्ट्रिय सुरक्षा तालिम, अपरेशनल कमाण्ड र व्यवस्थापन, मानवअधिकार कार्यान्वयन तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, र अपराध अनुसन्धान तालिम प्रमुख छन्।
पुरस्कार, सम्मान र विभूषण
व्यावसायिक उत्कृष्टता र अनुकरणीय सेवाका कारण कार्की प्रवल जनसेवा श्री, संयुक्त राष्ट्रसंघ पदक लगायतका विभूषणले सम्मानित छन्। साथै, विभिन्न समयमा प्राप्त नगद पुरस्कार र प्रशंसापत्रहरूले उनको सेवा प्रतिबद्धता झल्काउँछ।
प्रमुख जिम्मेवारी र अनुभव
कार्कीले आफ्नो करिअरका क्रममा नेपालगंज, रूकुम, तनहुँ, काँकरभिट्टा, आँबुखैरेनी, बुटवल, नयाँबानेश्वर, सप्तरी, कोटेश्वर, रामशाहपथ लगायत देशका विभिन्न ठाउँमा खटिएर फ्रन्टलाइन कमाण्डरका रूपमा संगठनको सेवा गरेका छन्।
वरिष्ठ पदमा उक्लिएपछि उनले
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल,
जिल्ला प्रहरी कार्यालय कास्की र कपिलवस्तु,
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत,
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ,
र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी
को नेतृत्व सम्हालेका थिए।
संगठनप्रतिको दृष्टिकोण
कुशल नेतृत्व, सामूहिकता र मनोबल वृद्धिमा विश्वास गर्ने कार्कीले प्रहरी संगठनलाई जनअपेक्षाअनुसार सेवा–सुरक्षामा केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यकाल र लक्ष्य
प्रहरी महानिरीक्षक कार्की २०८४ चैत्रसम्म नेपाल प्रहरीको नेतृत्वमा रहनेछन्। उनका अनुसार, “सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै संगठनलाई जनविश्वासको सर्वोच्च शिखरमा पुर्याउनु नै मेरो मुख्य उद्देश्य हो।”
प्रतिक्रिया