काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री आनन्द पोखरेलले जेन–जी आन्दोलनमा राजावादी शक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घुसपैठ रहेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादी, रास्वपा, रास्वपा र प्रचण्डको कारणले जेन–जीहरुलाई उकास्ने काम भएको बताएका हुन् । नेता पोखरेलले प्रचण्डले संसद्मै ‘देश छिट्टै बैगलादेशको बाटोमा जाँदैछ, नेताहरुको घर जल्दैछ, सिंहदरबार जल्दैछ’ जस्ता अभिव्यक्ति दिएको र उक्त अभिव्यक्ति पुष्टि पनि भएको बताए ।
‘यो जेन–जी आन्दोलनमा राजावादी र राप्रपालाई कही छोएको छैन । रास्वपाको कुनै केही बिग्रिएको छैन । राजा आउ, देश बचाउ भन्दै थिए । जसले यो स्थिति उकास्ने काम गर्यो,’ उनले भने, ‘यो मुलुकमा बंगलादेशको जस्तो हुँदै छ । नेताहरुको घर जल्दै छन् । सिंहदरबार आगो लाग्दैछ भनेर तत्कालीन प्रतिपक्षी दलका नेता प्रचण्डजीले भन्नुभयो । उहाँले कसरी भन्नुभयो मलाई थाहा छैन, तर निष्कर्ष त्यही पुग्यो । त्यो कहीँ न कहीँ छलफल भएको थियो । छलफल भएको कुरा खुस्किएको हो । त्यसले यो विध्वंशको लागि प्रेरित गरेको कुरा प्रचण्डजीले स्वीकार गर्नुपर्छ ।’
उनले गत भदौ २४ गते भएको विध्वंशलाई कसैगरी पनि परिवर्तन र क्रान्तिको संज्ञा दिन नसकिने बताए । उनले त्यसलाई आतङ्कवादी क्रियाकलापको संज्ञा दिए । उनले भने, ‘२४ गते जुनखालको घटनाहरु घटे, स्वभाविक रुपमा त्यो आतङ्कवादी घटना थियो । अराजकतावादी घटना थियो । यहाँसम्म कि पुलिसहरुलाई बर्दी फुकालेर, कुटेर, हत्या गरेको स्थिति थियो । संसद् भवन, सिंहदरबार, न्यायलय जलाइएको स्थिति थियो । त्यो कुुनै क्रान्ति हो ? कुनै परिवर्तन हो ? कुनै त्यसको सन्देश छ ? कुनै मुद्दा छ ? छैन । त्यो आतङ्कवाद र विध्वंशको कुरामात्रै छ । केही मान्छेहरु परिचालित भएर गोटी बने, भाडाका टट्टु बने । देश यो अवस्थामा पुग्यो । यो संविधानलाई कोल्याप्स गर्ने तहमा आइपुगेको स्थिति हो ।’
अब संविधानलाई लिकमा ल्याउनका लागि संसद् पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको पनि उनको भनाइ छ । उनले संसद् पुनर्स्थापना गरेर संविधान स.शोधन गरी जेन–जीले उठाएका मुद्दाहरु सम्बोधन गरिनुपर्ने बताए । अहिलेको विध्वंश, हत्या, हिंसा, बर्दीका प्रहरी मारेको विषयलाई रिकग्नाइज गरेर अगाडि जानुपर्छ भन्ने कुरा कुनै पनि दलहरुले स्वीकार गर्न नहुने उनले बताए । अहिलेको सरकार असंवैधानिक रहेको र यसले अहिलेको नेपालको संविधानलाई नदेख्ने र नबुझ्ने बताए । उनले पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री हुन सक्दैन भन्ने कुरा संविधानमा नै लेखिएको बताए ।
उनले प्रधानमन्त्री सुशीला कार्कीलक्षित गर्दैै जेन–जीको नाममा बुढी दिदी प्रधानमन्त्री बनेको टिप्पणी गरे । ‘जेन–जीको नाममा बुढी दिदीहरु प्रधानमन्त्री छिन् । तिनले आवाजको प्रतिनिधित्व गर्छन् ? मुलुकलाई तहसनहस गरेर विजुलीलाई भारतको पोल्टामा पुर्याउनेहरु उज्यालोका नेताहरु छन् ।’
प्रतिक्रिया