स्वास्थ्य मन्त्रालय मंसिरदेखि सिंहदरबार भित्र प्रिफ्याब ब्लक भवनमा सर्ने तयारी गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०८२, शुक्रबार ०६:३०

काठमाडौं। जेनजी आन्दोलनले ध्वस्त पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेपछि अब सिंहदरबार भित्रै सर्ने भएको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मन्त्रालय नागरिकको सहजताका लागि सिंहदरबार बाहिर रहेको थियो । आन्दोलनका नाममा आगजनी गरी ध्वस्त पारेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्ततः सिंहदरबार परिसरभित्र स्थानान्तरण हुने तयारीमा पुगेको छ । हाल रामशाहपथस्थित मुख्य भवन आगलागीपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा कार्यरत मन्त्रालय अब केही सातामै सिंहदरबारबाट सेवा दिने तयारीमा जुटेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सिंहदरबार परिसरभित्र रहेको नेपाली सेनाको नर्सिङ दल गण सरेपछि खाली रहेको जग्गा र भवनहरू मन्त्रालयका लागि औपचारिक रूपमा छुट्याइएको छ । सोही क्षेत्रमा अहिले छ वटा ठूला प्रिफ्याब ब्लक भवनहरू धमाधम निर्माण भइरहेका छन् ।

“पहिले नर्सिङ दल गण रहेको क्षेत्रको पूर्वी भागमा खाली रहेको जमिनमा प्रिफ्याब ब्लकहरू बनाइँदै छन्,” डा. बुढाथोकीले बताए । “त्यसका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आर्थिक र प्राविधिक सहयोग गिरहेको छ । केही पुराना कोठाहरू पनि प्रयोगयोग्य अवस्थामा छन्, जसलाई पुनः मर्मत गरी प्रयोग गर्न सकिन्छ ।”

२०८२ साल भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको मुख्य भवनमा भीषण आगजनी गरिएको थियो । त्यसपछि मन्त्रालयका कार्यालय, फाइल र उपकरणहरू क्षतिग्रस्त भएका थिए । तत्कालीन अवस्थामा मन्त्रालयका अधिकांश शाखा र महाशाखा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा सरेको थियो ।

त्यसयता मन्त्रालयले सिंहदरबार परिसरभित्र स्थायी रूपमा कार्यालय स्थानान्तरण गर्ने योजना अघि सारेको थियो । मन्त्रालयका अधिकारीहरूले सिंहदरबारभित्र सर्दा समन्वय र नीति–निर्णय प्रक्रियामा सहजता आउने बताएका छन् । यता सेवाग्राहीलाई भने सिंहदरबार भित्र मन्त्रालय सर्दा काममा थप सास्ती हुने देखिन्छ ।
डब्लुएचओको प्राविधिक टोलीको सल्लाहमा निर्माण भइरहेको यी प्रिफ्याब भवनहरू स्थायी र चलायमान दुवै प्रकारका संरचना हुने मन्त्रालयले जनाएको छ । आवश्यकता अनुसार यी भवनहरूलाई पछि अन्य स्थानमा पनि सार्न सकिनेछ । डा. बुढाथोकीका अनुसार, “यो प्रिफ्याब संरचना लामो अवधिका लागि प्रयोग गर्न मिल्ने खालको हो, तर आवश्यक परे स्थानान्तरण गर्न पनि सकिने लचिलो मोडेलमा निर्माण भइरहेको छ ।”

प्रिफ्याब भवनहरूमा मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा, प्रशासन, सेवा व्यवस्थापन, र स्वास्थ्य सेवा महाशाखा लगायतका मुख्य इकाइहरू रहने छन् ।

मन्त्रालयका अनुसार, कात्तिक महिनाभर रामशाहपथस्थित अस्थायी कार्यालयबाट सेवा सञ्चालन हुने भए पनि मंसिर महिनादेखि सिंहदरबारबाटै नियमित सेवा सञ्चालन गर्ने तयारी भएको छ । नवनियुक्त स्वास्थ्य मन्त्री डा.सुधा शर्मा गौतमले केही दिन अघि एनएचआरसीको आतिथ्य भवनमा पदभार ग्रहण गर्नु भएको थियो। “अबको दुई–तीन हप्ताभित्र सबै ब्लकहरू निर्माण पूरा हुन्छन्,” प्रवक्ता बुढाथोकीले भने, “मंसिरमा मन्त्रालय सिंहदरबारबाटै सेवा दिन थाल्नेछ ।”

मन्त्रालयका अनुसार, सिंहदरबारभित्र प्रवेश गरेपछि मन्त्रालयले अन्य प्रमुख नीति निर्माण निकायहरूसँग सीधा समन्वय गर्न सहज हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, र संघीय मामिला मन्त्रालयसँगको दूरी घट्दा प्रशासनिक कार्यदक्षता बढ्ने मन्त्रालयको दाबी छ ।
सिंहदरबारमा सर्ने तयारीसँगै मन्त्रालयले प्रशासनिक सुरक्षाको नयाँ ढाँचा समेत तयार गरेको छ । आगलागीको अनुभवका आधारमा नयाँ कार्यालयमा डिजिटल डकुमेन्ट म्यानेजमेन्ट प्रणाली र फायर–सेफ मोनिटरिङ प्रणाली लागू गर्ने तयारी भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए । “विगतको घटनाबाट हामीले सिकेका छौँ,” उनले भने, “अबका कार्यालयहरूमा कागजी फाइलको मात्र होइन, डिजिटल सुरक्षा पनि हुनेछ ।”

स्वास्थ्य मन्त्रालयको रामशाहपथस्थित भवन करिब तीन दशकअघि निर्माण गरिएको हो । लगातार विस्तार र भीडका कारण त्यहाँ स्थान अभाव र संरचनागत समस्या देखा परेको थियो । त्यसमा २०८२ को आगलागीपछि सम्पूर्ण भवन प्रयोग अयोग्य बनेको छ ।

यसपटक सिंहदरबारभित्र मन्त्रालय सर्दा प्रशासनिक र नीतिगत स्तरमा एकीकृत संरचना बन्ने अपेक्षा गरिएको छ । अधिकारीहरूका अनुसार, यो स्थानान्तरण स्वास्थ्य शासन प्रणाली सुदृढीकरणको अवसर पनि बन्न सक्छ । संक्षेपमा, झन्डै २ महिनादेखि अस्थायी कार्यालयमा चलिरहेको स्वास्थ्य मन्त्रालय अब सिंहदरबारभित्र सर्दैछ । डब्लुएचओको सहयोगमा बनेको प्रिफ्याब भवनले मन्त्रालयलाई स्थायित्व र कार्यदक्षताको नयाँ अध्यायमा प्रवेश गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया