पाल्पा। बुटवलबाट पाल्पा सदरमुकाम तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जादै गरेको इभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
वुधवार दिउँसो रैनादेवी छहरा गाउँपालिकाको ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा इभी भ्यान दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा १ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र सोही गाउँपालिका वडा नं ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरिक्षक होमप्रकाश चौधरीले वताए ।
लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको दुर्घटनाग्रस्त ईभी गाडीमा चालकसमेत तीन जना रहेका थिए । बुटवलबाट गएका अन्य यात्रुहरू छहरा बजारमा झारेर भ्यान मेहलढापतर्फ गएको थियो। भ्यानमा चालकसहित तीनजना मात्र रहेको र सबैको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय होटल व्यवसायीका अनुसार करिब साढे ११ बजे छहराबाट हिँडेको ईभी धेरै समयसम्म मेहलढाप नपुगेपछि खोजीकार्य भएको थियो । खोजी गर्दै जाँदा दुर्घटनामा परेको जानकारी साढे एक बजे तिर इलाका प्रहरी कार्यालय मुझुङ्ले पाएको हो । त्यसपछि सदरमुकाम तानसेनबाट समेत गएको प्रहरी टोलीले उद्धार गरी तानसेन जिल्ला अस्पतालमा ल्याउदा अस्पतालले मृत घोषणा गरेको सूचना अधिकारी चौधरीले वताए । दुर्घटनाग्रस्त भ्यान सडकबाट करिव ३ सय ५० मीटर तल खोल्सामा पुगेको छ ।
‘२० मिनेटमा मेहलढाप पुग्नुपर्ने ईभी दुई घण्टामा नपुगेपछि खोजी गरिएको थियो,’ स्थानीय रैनादेवी छहरा गाउँपालिकाका कार्यपालिका सदस्य महेश बरालले भने , ‘त्यसपछि मात्र गाडीको खोजी कार्य गरिएको हो । प्रहरीले दुर्घटनाको कारणवारे अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया