मासिँदै दसैँको मौलिकता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८२, मंगलवार ०४:१४

बडादसैँ नेपालीहरूको महत्वपूर्ण चाड हो । यस चाडमा विदेशमा रहेका आफन्तसमेत घर फर्केर आफूभन्दा ठुलाको हातबाट टीका, जमरा र आशीर्वाद लिने चलन छ । यस कार्यले दुबै पक्षको भलो हुन्छ भने मान्यता उहिलेदेखि नै रहिआएको छ । त्यसैले हरेक वर्षको दसैँमा कम्तीमा टीका र आशीर्वाद थाप्नका लागि भनेर वर्षौं नेपालमा नफर्किएकाहरू स्वदेश फर्केर मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद लिएर फर्कने चलन छ ।

यहि दृष्टिकोणले देश विदेशबाट आउने पाहुना वा आफन्तलाई हिँडेर आउँदा बाटोमा कुनै समस्या नहोस् भनेर मूलबाटोदेखि वारि वा पारि गाउँसम्म जाने बाटो खनेर राम्रो समतल बनाइन्थ्यो । वर्षाको पानीले पहिरो जाँदा वा भेल बग्दासमेत बाटो भत्केको हुन्थ्यो । त्यसलाई मर्मत सम्भार गरी हिँडन सहज होस् भनेर यस्तो कार्य गरिन्थ्यो जुन वास्तवमा राम्रो र सकारात्मक सोचको विकास गराउने खालको काम हो ।

जुनबेला विशेषगरी गाउँघरमा यातायातका साधन गुड्न सक्ने सडक बनेका पनि थिएनन् त्यसबेला यात्रा हिँडेर गरिन्थ्यो । पैदल यात्रा गर्नु भनेको समयमा गन्तव्यमा पुग्न निकै नै धौधौ पथ्र्यो । अझ वर्षाको पानीले बिग्रेको बाटामा त सहज आवागमन गर्न निकै कठिन थियो । यसरी हरेक वर्षको दसैँ सुरु भएपछि बाटाहरू मर्मत सम्भार गर्ने चलन थियो । अर्थात् देश विदेशबाट आउनेका लागि मात्र नभई हाम्रा गाउँघरकै मानिस आउजाउ गर्नका लागि पनि बाटो मर्मत सम्भार गर्ने चलन थियो ।

हरेक वर्षको दसैँमा कम्तीमा टीका र आशीर्वाद थाप्नका लागि भनेर वर्षौं नेपालमा नफर्किएकाहरू स्वदेश फर्केर मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद लिएर फर्कने चलन छ ।

यसबेलामा गाउँघरका बाटा मर्मत गर्न वडाका सबैजसो नागरिक भेला भएर रमाउँदै बाजागाजाका साथ बाटो खन्दाको क्षण निकै रोमाञ्चक पनि हुन्थ्यो । यस्तोमा एउटै ठाउँमा बसोबास गर्ने नागरिकसँग चिनजान नभएर चिनजान गर्ने मौका पनि मिल्थ्यो । हार्दिकता सटासाट हुन्थ्यो । यसले उनीहरूबीच आत्मीयताको भावना बढेर जान्थ्यो । यो पनि एउटा सामाजिक सकारात्मक पाटो हो । हाम्रो देश नेपाल प्रकृतिले पनि सिंगारिएको एउटा सुन्दर अति सुन्दर देश हो ।

यस्तो सुन्दर देशमा पनि देशी विदेशी पर्यटकहरू भ्रमण गर्न नआउने कुरै भएन । तिनीहरू घुम्न आउँदा हामीले गरेको यो कार्यलाई पनि राम्ररी नियालिरहेका हुन्छन् । सानादेखि ठुला वा मूल बाटासमेत मर्मत सम्भार गरेर चिटिक्क पार्दा थाकेका पैदल यात्रुलाई समेत हिँडौ हिँडौ लाग्ने हुन्छ । यसले नै हाम्रो सभ्यताको परिचय दिन्छ । यतिमात्र होइन यसले एकता, सहकार्य, तथा सदभावको परिचय दिन्छ । यसरी हामीले गरेका हरेक दसैँमा बाटो मर्मतका प्रशंसा विकसित देशमा समेत अनुकरणीय हुन सक्छ ।

अर्थात् धार्मिक आस्थाले ओतप्रोत हुँदै गरेको यस सहकार्यबाट जो कोहीले पनि प्रेरणा लिन सक्छ । यसकारण यहाँ दसैँ सुरु भएपछि प्रायः गाउँघरमा बाटो मर्मत सम्भार गर्ने चलन पहिलादेखि नै थियो । तत्कालीन गाविसका हरेक वडाध्यक्षले वडावासीलाई आफ्ना वडाको बाटो खन्ने भाग कहाँदेखि कहाँसम्म हो भनेर सूचना जारी गर्दथे । यसरी वडाभरका हरेक घरबाट १–१ जनाका दरले यस्ता बाटो मर्मत गर्न जाने चलन नै थियो ।

कुनै कारणवस यदि कुनै घरका सदस्य बाटो मर्मत सम्भार गर्न असमर्थ भएमा वडाध्यक्षले सबैका सहमतिमा सजाय मिनाहा गरिदिने चलन पनि थियो । प्रत्येक वडाबासी मिलेर हरेक घरबाट कसैको मृत्यु भएमा १–१ जना अनिवार्य रूपमा मलामी जाने पनि चलन थियो । हरेक बारीझाडी र फूलबारीमा कलिला बालबालिका तथा युवायुवती समेतका मनोरञ्जनहेतु पिङ खेल्नका लागि बाँसको, अचेलको विभिन्न मेलाका राम हिलोरा झैँ बनाइन्थ्यो ।

तर जुन आनन्द पिङ खेलेर आउँथ्यो त्यो अहिलेको राम हिलोरामा कहाँबाट पाउनु ? नक्कली पिङको ठुलै नमुना हाल बिजुलीबाट सञ्चालित हुन्छ जसमा सयौँ यात्रु बोकेर रामहिलोरा वा झुला भनेर बेगमा नचाइन्छ । भर्खर हिजो अस्ति जनकपुरका प्रसिद्ध राजदेवी मन्दिरमा जब यो झुला विद्युतीय धाराबाट प्रवाहित भयो तब अचानक भाँचिएर धेरै मान्छे धरापमा परेर घाइते भए । यो विकृतिकै परिणामस्वरूप दैविक प्रकोप हुन सक्ने धेरै वुद्धिजीवी तथा विद्वानहरूका चेतावनी आफ्नो ठाउँमा छ ।

अर्थात् बाटा पुनर्निर्माण तथा मर्मत सम्भारसम्बन्धी दसैँका सकारात्मक र रचनात्मक चलन एकप्रकारको पूण्यसरह नै थिए । अहिले पनि यातायातको पहुँचबाट टाढै रहेका दुर्गम वस्तीमा समेत बाटाघाटाहरूका मर्मत अनि सम्भार काम कतैकतै भएको पाइन्छ । जमरे औँसीका दिनदेखि २ दिनसम्म ग्रामीण बाटाहरू मर्मत सम्भार गरिने चलन छ । दसैँको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म आफ्ना मान्यजनबाट रातो टीकासँगै कानमा पहेँला जमरा लगाइन्छ ।

बारीझाडीका डिलमा फूलेका सयपत्रीका थुंगाबाट निस्केको मगमग वास्ना सँगसँगै मर्मत सम्भार गरिएका नयाँवस्ती तथा ग्रामीणका नौलो सडकमा निर्धक्क भएर हिँडदा कसको मन रमाउँदैन र ? यस्ताबाटामा हिँडेर मोबाइलमा पनि सेल्फी खिचेर समाजिक सञ्जालमा पठाउँदा कसको मन अतिरञ्जित हुँदैनन् ? यति मात्र होइन नयाँ नयाँ पहिरनमा सजिएर मर्मत सम्भार गरिएका बाटाहरूमा आफन्तको लावालस्कर हेरीहेरी कसको मनचाहिँ फुरुंग हुँदैन र ?

समयको चक्रसँगसँगै ग्रामीण धुलेहिले कच्ची सडकको साटो कालोपत्रे पक्की सडकले ती मसिना र पसिनाले मर्मत भएका सडकलाई बिर्सेर ती हिलाम्मे र धुलाम्मे सडकको अस्तित्वलाई नकार्नुचाहिँ पक्कै मुर्खता हो । किनकि वास्तविकताको जगमा उभिएर भन्ने हो भने असलमा सडकको अधारभूत जग बसाउने श्रेय त तिनै धुले अनि हिले ग्रामीण सडक नै हुन् । तसर्थ केबल अहिलेका दसैँमा मात्र होइन बरु प्रत्येक सालको आउँदा वर्षका दसैँमा पनि गाउँका बाटा अनिवार्य रूपमा मर्मत तथा सम्भार गर्नुपर्छ ।

बाटा मात्र होइनन, मन्दिर, पाटी, पौवा समेतको संरक्षण र संवद्र्धन अनिवार्य रूपमा हुनुपर्दछ । बरु खर्चिलो भड्किलो अनावश्यक र क्षणिक सजावटका खर्चबाट हामीले सदाका लागि सुरक्षित संरक्षित रहने गरी हाम्रो प्रत्येक सांस्कृतिक सम्पदालाई समुचित मर्मत अनि सम्भार पनि दसैँका बेलामा गरी राखौँ । ताकी हाम्रो मौलिक सांस्कृतिक परम्परा सदाका लागि विलिन भएर नजाओस् ।

बुद्धको देश नेपाल पुनः सधैँका लागि शान्ति र समृद्धिले परिपूर्ण रहोस् । हराएको मानवता पुनर्जीवित भएर आओस् । चारैतर्पm हाम्रो सदभाव तथा सदाचार फैलियोस्, विकृति नपलाई प्रकृति पनि नरिसाओस् । अस्वाभाविक तथा अभिश्रापित दुःख कष्ट दूर होस् । डाहा, ईष्र्या र द्वेषले हाम्रो जीवन कलहपूर्ण नबनोस् । बरु प्रगाढ प्रेम तथा एकआपसको भाइचाराले हाम्रो आत्मीयता दिनप्रतिदिन बढ्दै जाओस् भने यसपालिको दसैँको यही विशेष शुभकामना ।

प्रतिक्रिया