आज हरिशयनी एकादशी ,चतुर्मास व्रत आरम्भ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०८२, आईतवार ११:५४

काठमाडौँ । आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
यसै दिनदेखि चौमासा व्रतको सुरुवात हुन्छ ।
ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसी बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको पूजा गरिन्छ।
एक वर्षमा २४ एकादशी पर्ने भए पनि अधिकांश भक्तजनले चतुर्मासअन्तर्गतका आठ एकादशीमा व्रत बस्ने गर्छन्। केहीले हरिशयनी र हरिबोधिनी एकादशी मात्र व्रत गर्ने प्रचलन छ।

आजको दिन राजधानीको बूढानीलकण्ठ, चार नारायण मन्दिरलगायत देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको भीड देखिन्छ। तुलसीलाई वैज्ञानिक रूपमा पनि उपयोगी मानिन्छ, जसले वातावरण शुद्ध बनाउने र रोगजन्य कीटाणु टार्ने मान्यता छ।

चार महिनासम्मको पूजा पश्चात् कार्तिक शुक्ल एकादशीका दिन तुलसी र दामोदरको विवाह गरेर चतुर्मासको समापन गरिन्छ।

 

प्रतिक्रिया

Leave a Reply