पाकिस्तानको लागि जासुसी गरेको आरोपमा पक्राउ परिन् भारतीय युट्युबर मल्होत्रा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०८२, सोमबार ०६:०७

काठमाडौं । पाकिस्तानको लागि जासुसी गरेको आरोपमा भारतीय युट्युबर ज्योति मल्होत्रा पक्राउ परेकी छन् ।

हरियाणाको हिसार निवासी मल्होत्रालाई केही दिनअघि नै प्रहरीले पक्राउ गरे पनि हालै मात्र घटनाबारे खबर बाहिरिएको हो ।

मल्होत्राको ‘ट्राभल विथ जो’ नामक युट्युब च्यानलमा ३.७८ लाख सब्सक्राइबर छन् र उनलाई सामाजिक सञ्जालमा लोकप्रिय अनुहार मानिन्थ्यो ।

मल्होत्राका इन्स्टाग्राममा १.३३ लाख, फेसबुकमा ३.२१ लाख फलोअर्स छन् । उनी मनाली, मसूरी, जैसलमेर, जयपुर र कश्मीर जस्ता भारतका विभिन्न पर्यटकीय स्थलहरूमा भ्लगहरू बनाएर लोकप्रिय भएकी थिइन् ।

अनुसन्धान एजेन्सीहरूले ज्योतिको पाकिस्तान भ्रमण र त्यहाँका केही व्यक्तिहरूसँगको उनको भेटघाट शङ्कास्पद रहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्वीरमा उनी पाकिस्तानी उच्चायुक्तको पार्टीमा अन्य भारतीय भ्लगरहरूसँग देखिएकी थिइन् । यहीँबाट उनको कथित जासुसीको कथा सुरु भएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

प्रहरी स्रोतका अनुसार ज्योतिलाई विदेशी एजेन्टहरूले पाकिस्तानको सकारात्मक छवि देखाउन र यसको नीतिहरूको पक्षमा प्रचार गर्न रोजेको दाबी छ । साथै, पाकिस्तानमा उनको व्यवहार शङ्कास्पद रहेको र उनी देशको सुरक्षाको लागि खतरा मानिने केही व्यक्तिहरूसँग सम्पर्कमा रहेको भनिएको छ ।

अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको एसपी हिसार शशांक कुमार सावनले जानकारी दिए ।

प्रतिक्रिया