काठमाडौं । २०० यात्रु बोकेको जर्मन विमान करिब १० मिनेटसम्म पाइलटबिनै आकाशमा उडिरहेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।
उक्त घटना सन् २०२४ को फेब्रुअरी महिनामा भए पनि हालै मात्र स्पेनी अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेका प्रतिवेदनपछि यसबारे जानकारी बाहिर आएको हो ।
लुफ्थान्सा एअरलाइन्सको फ्र्यांकफर्ट (जर्मनी) बाट सेविल (स्पेन) जाँदै गरेको विमान स्पेनको सीमा नजिक पुग्दासम्म करिब ३० मिनेट मात्र बाँकी थियो । यही समयको मौका पारेर मुख्य पाइलट शौचालय जान ककपिटबाट बाहिरिए । तर, आठ मिनेटपछि फर्केर आउँदा उनले पाँच पटकसम्म सुरक्षा कोड हाल्दा पनि ककपिटको ढोका खोल्न सकेन । फ्लाइट अटेन्डेन्टले इन्टरकममार्फत को–पाइलटलाई सम्पर्क गर्ने प्रयास गरे, तर कुनै प्रतिक्रिया आएन ।
त्यसपछि मात्रै थाहा भयो — ३८ वर्षीय को–पाइलट ककपिटमै बेहोस भएका रहेछन् । झन्डै १० मिनेटपछि उनी होसमा फर्किए र ढोका खोले ।
आकस्मिक अवतरण
जब पाइलट भित्र पसे, को–पाइलट निस्सासिएको, पसिना आएको, अजीब तरिकाले हिँडिरहेको देखिएपछि तुरुन्तै उनलाई विमानमा रहेका एक चिकित्सकद्वारा प्राथमिक उपचार दिइयो ।
त्यसपछि विमानलाई तत्काल नजिकको म्याड्रिड विमानस्थलतर्फ मोडेर आकस्मिक अवतरण गराइएको थियो ।
स्पेनी अनुसन्धान प्रतिवेदनअनुसार को–पाइलटलाई एक प्रकारको न्युरोलोजिकल (स्नायु सम्बन्धी) समस्या थियो, जसले कहिलेकाहीँ अचानक बेहोस बनाउने वा दौरा आउने अवस्था ल्याउँछ ।
स्पेनी विमान सुरक्षा निकायले उक्त घटनापछि युरोपेली संघको विमान सुरक्षा एजेन्सी (EASA) लाई यस्तो खालको जोखिमबारे सबै एअरलाइन्सलाई जानकारी गराउन सिफारिस गरेको छ । साथै, पाइलटलाई एक्लै ककपिटमा बस्न दिने नीति पुनः मूल्याङ्कन गर्न पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया