नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउमा भ्याट नलाग्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०८०, आईतवार ०७:०२

काठमाडौं।  आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त सुविधा कटौती गरेको थियो ।

सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमासमेत भ्याट लाग्न थालेको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी विरोधमा छन् । विरोधस्वरुप कालीमाटीका होलसेल व्यापारीले आलु, प्याजको आयात तथा बिक्री रोकेपछि बजारमा अभाव र चर्को मूल्यवृद्धि देखिएको छ । तर आन्तरिक राजस्व विभागले भने आज एक सूचना जारी गर्दै आन्तरिक उत्पादनमा भ्याट नलाग्ने स्पष्ट पारेको छ ।

“आलु प्याजलगायत नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले बजारमा सहज आपूर्ति हुन नसकेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति यस विभागको ध्यानाकर्षण भएको छ”, विभागको सूचनामा भनिएको छ, “आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपालको नीतिअनुरुप नेपालमा उत्पादन भएका आलु, प्याज, तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यस सूचनाद्वारा जानकारी गराइन्छ ।”

प्रतिक्रिया

slot gacor