भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा स्पष्ट उठाउन पूर्वराजदूतहरूको सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८३, बिहीबार ०५:३५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका सीमा विवाद, सन्धि–सम्झौता र आर्थिक मुद्दालाई स्पष्ट रूपमा उठाउन पूर्वराजदूतहरूले सुझाव दिएका छन्। बलियो जनमतसहित निर्वाचित सरकारका प्रधानमन्त्रीले राष्ट्रिय मुद्दा राख्दा संकोच मान्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ।

प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन्। २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रधानमन्त्रीको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले प्रधानमन्त्री शाहले नेपालको असंलग्न परराष्ट्र नीतिको सिद्धान्तभित्र रहेर राष्ट्रिय हितका विषय स्पष्ट रूपमा उठाउनुपर्ने बताए। नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेकाले त्यसलाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित गर्न नहुने धारणा राखे।

पौडेलले विगतका सन्धि, सम्झौता तथा समझदारी, सीमा विवाद र आर्थिक मुद्दामा गम्भीर छलफल गर्नुपर्ने बताए। बलियो जनमतसहित निर्वाचित सरकार भएकाले प्रधानमन्त्रीले राष्ट्रिय मुद्दा उठाउन संकोच गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। विगतमा गठबन्धन सरकार र कमजोर जनाधारका कारण अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्न कठिनाइ भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई राष्ट्रिय हितका विषय उठाउने अवसरका रूपमा लिनुपर्ने बताए।

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि प्रधानमन्त्री शाहको भ्रमणलाई राष्ट्रिय हितमा उपयोग गर्नुपर्ने बताए। नेपालमा नयाँ राजनीतिक परिवेशमा सरकार बनेको र भारतले पनि नयाँ नेतृत्वसँग सम्बन्ध विस्तार गर्न चाहेको अवस्थामा भ्रमणबाट ठोस परिणाम निकाल्नुपर्ने उनको भनाइ छ।

उपाध्यायले नेपाल–भारतबीच विगतदेखि कायम रहेका समस्या स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताए। दुई देशबीच भएका सन्धि, सम्झौता तथा निर्णयको कार्यान्वयन र निरन्तरतामा दुवै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै विगतका सहमति र निर्णयबाट कुनै पनि पक्ष विमुख हुन नहुने धारणा राखे।

डेनमार्कका लागि नेपालका पूर्वराजदूत विजयकान्त कर्णले भने भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने बताए। उनका अनुसार भ्रमणको पहिलो उद्देश्य भारतीय नेतृत्वसँग परिचय स्थापित गर्ने, एकअर्कालाई बुझ्ने र आपसी विश्वास निर्माण गर्नु हो।

भारत नेपालको घनिष्ठ सम्बन्ध भएको मुलुक रहेको उल्लेख गर्दै कर्णले व्यापार, लगानी र खुला सीमाका कारण दुई देशबीचको सम्बन्ध विशेष महत्वको रहेको बताए। नेपालको कुल व्यापारको तीन प्रतिशतभन्दा बढी हिस्सा भारतसँग हुने गरेको र कुल निर्यातको करिब चार प्रतिशत भारततर्फ हुने गरेको उनको भनाइ छ। भारत नेपालको प्रमुख लगानीकर्ता मुलुकसमेत हो। नेपाल र भारतबीच करिब एक हजार आठ सय किलोमिटर लामो खुला सीमा रहेको छ।

नयाँ राजनीतिक परिस्थितिमा निर्वाचित प्रधानमन्त्री शाह र भारतीय नेतृत्वबीच यसअघि प्रत्यक्ष भेटघाट तथा पर्याप्त संवाद नभएकाले यो भ्रमण परिचय र विश्वास निर्माणका दृष्टिले महत्वपूर्ण हुने कर्णले बताए। उनले प्रत्यक्ष भेटघाट र संवादबाट मात्रै एकअर्कालाई राम्रोसँग बुझ्न सकिने धारणा राखे।

कर्णका अनुसार भ्रमणका क्रममा नेपालले विपद् व्यवस्थापन, पूर्वाधार विकास, हवाई रुट, ऊर्जा सहकार्य तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायतका विषय भारतीय पक्षसमक्ष उठाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor