काठमाडौं । पूर्वक्रिकेटर तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। एचएएमएस ग्रुपको अटोमोटिभ व्यवसायिक इकाइ हाइली एडभान्स्ड मोटर्स प्रालि (एचएएमएस) ले खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।
यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै खड्का औपचारिक रूपमा क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध भएका छन्। कम्पनीले यस सहकार्यलाई नेपाली बजारमा क्यूजे मोटरको उपस्थिति र पहिचान थप सशक्त बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खड्काले क्यूजे मोटरसँग जोडिन पाउँदा खुसी व्यक्त गरे। उनले विश्वास र विश्वसनीयता खेलकुददेखि दैनिक जीवनसम्म उत्तिकै महत्वपूर्ण हुने बताउँदै कुनै पनि ब्रान्डले मानिसमा जगाउने भरोसा र दिने अनुभवबाट आफ्नो पहिचान बनाउने धारणा राखे।
एचएएमएस ग्रुपका अध्यक्ष आरएस भण्डारीले कम्पनीको व्यावसायिक यात्रा सधैँ विश्वास, प्रतिबद्धता र दीर्घकालीन सम्बन्धबाट निर्देशित हुँदै आएको बताए। क्यूजे मोटरसँगको सहकार्यले नेपाली ग्राहकमा गुणस्तर र विश्वसनीयताप्रतिको विश्वासलाई थप मजबुत बनाउने उनको भनाइ छ।
‘पारस खड्कालाई ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा हामी गर्व गर्छौं। उहाँको प्रतिबद्धता, इमानदारी र विश्वासले हाम्रा मूल्य र मान्यताको प्रतिनिधित्व गर्छ,’ भण्डारीले भने।
त्यस्तै, एचएएमएसका कार्यकारी निर्देशक समीर भण्डारीले कम्पनीको उद्देश्य नेपालमा विश्वव्यापी मोटरसाइकल ब्रान्ड स्थापित गर्नुका साथै ग्राहकले विश्वास गर्न र अपनत्व महसुस गर्न सक्ने दिगो ब्रान्ड निर्माण गर्नु रहेको बताए।
सन् १९५५ मा गिली ग्रुपअन्तर्गत स्थापना भएको क्यूजे मोटरले इन्जिनियरिङ, नवीनता र गुणस्तरीय उत्पादनमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया