जलवायु संकटसँग जुध्न स्वच्छ ऊर्जा र वित्तीय सहयोग बढाउन कोप–३१ का अधिकारीहरूको जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०८३, बिहीबार ०७:५५

अन्ताल्या (टर्किए) । जलवायु संकट न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा उतार्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता बढाउनुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन्।

राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले जलवायु परिवर्तन विश्वकै गम्भीर चुनौती बनिसकेको भन्दै प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

कार्यकारी सचिव स्टिलले जलवायु कार्यलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र जनजीवनसँग जोड्दै स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने बताए। जलवायु जोखिममा रहेका विकासशील राष्ट्रलाई थप सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय सहकार्यका कारण विश्व तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा बढीबाट घटेर करिब २.६ डिग्रीमा झरेको जानकारी दिए।

उनले राष्ट्रिय जलवायु लक्ष्य कार्यान्वयन, अर्थतन्त्रको विद्युतीकरण, जलवायु अनुकूलनका लागि वित्तीय सहयोग वृद्धि र विकासशील राष्ट्रको जलवायु वित्तमा पहुँच सहज बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

कोप–३१ का अध्यक्ष कुरुमले जलवायु परिवर्तन ऊर्जा, उद्योग, कृषि, विकास र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताए। सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गर्दै उनले नेपालमा बाढीपहिरो, पाकिस्तानमा बाढी तथा प्रशान्त क्षेत्रका टापु राष्ट्रमा समुद्री सतह वृद्धि जलवायु संकटका गम्भीर उदाहरण भएको बताए।

उनले राष्ट्रिय जलवायु लक्ष्यलाई बजेट र लगानीसँग जोड्न, जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्न तथा विपद् उत्थानशीलतालाई राष्ट्रिय विकास नीतिको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। टर्किएले सन् २०३५ सम्म अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको जानकारीसमेत उनले दिए।

वार्ता अध्यक्ष बोवेनले विश्वले ऊर्जा सुरक्षा संकट, युद्ध तथा द्वन्द्व र जलवायु संकटको एकैसाथ सामना गरिरहेको बताए। तापक्रम वृद्धिको प्रत्येक अंशले मानव जीवन, अर्थतन्त्र र वातावरणमा असर पार्ने भएकाले तत्काल सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

गत वर्ष स्वच्छ ऊर्जामा दुई दशमलव दुई ट्रिलियन अमेरिकी डलर लगानी भएको र यो जीवाश्म इन्धनमा भएको लगानीको दोब्बर रहेको जानकारी दिँदै उनले स्वच्छ ऊर्जाको विस्तारलाई अझ तीव्र बनाउनुपर्ने बताए।

जलवायु वित्तलाई छिटो, सरल र न्यायोचित बनाउँदै जोखिममा रहेका राष्ट्रको अनुकूलन तथा उत्थानशीलताका लागि लगानी बढाउनुपर्नेमा उनले जोड दिए। जलवायु वित्तमा पहुँचको असमानता हटाएर राष्ट्रिय जलवायु योजनालाई कार्यान्वयन गर्न सकिने परियोजनामा रूपान्तरण गर्नुपर्ने उनको धारणा थियो।

तीनै वक्ताले जलवायु संकट समाधानका लागि बहुपक्षीय सहकार्य, पर्याप्त वित्तीय सहयोग र प्रतिबद्धताअनुसारको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै कोप–३१ बाट ठोस उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor