काठमाडौं । चीनमा एक व्यक्तिले डोजर प्रयोग गरी सरकारी सेवा केन्द्रको भवनमा तोडफोड गरेका छन्। उत्तरपश्चिमी चीनको शान्सी प्रान्तस्थित फेङडोङ न्यु सिटीमा भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
साउथ चाइना मर्निङ पोस्ट र अन्य सञ्चारमाध्यमका अनुसार ४७ वर्षीय एक व्यक्तिले पहेँलो रङको डोजर लिएर सरकारी प्रशासनिक सेवा भवनको प्रवेशद्वार र अगाडिको भागमा पटकपटक प्रहार गरेका थिए। उनले भवनको गेट, छत, सिँढी, सिसाका ढोका तथा बाहिरी संरचनामा क्षति पुर्याएको बताइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा डोजरले सरकारी भवनको प्रवेशद्वारमा लगातार ठक्कर दिँदै तोडफोड गरिरहेको देखिन्छ। घटना भएपछि प्रशासनले भवनभित्र रहेका कर्मचारी तथा सेवाग्राहीलाई तत्काल सुरक्षित स्थानमा सारेको थियो।
प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ। उनको थर हू रहेको बताइएको छ। घटनामा कुनै पनि व्यक्ति घाइते नभएको प्रहरीको भनाइ छ।
तोडफोडको कारणबारे विभिन्न सञ्चारमाध्यममा फरक–फरक दाबी सार्वजनिक भएका छन्। केही रिपोर्टअनुसार सरकारी परियोजनाअन्तर्गतको बाँकी भुक्तानी वा क्षतिपूर्ति नपाएपछि उनी आक्रोशित भएका थिए। उनको पशुपालन फार्म भत्काइएबापत पाउनुपर्ने क्षतिपूर्तिको विषयमा विवाद रहेको दाबीसमेत गरिएको छ।
यद्यपि, यी दाबीको आधिकारिक पुष्टि भएको छैन। प्रहरीले पनि घटनाको वास्तविक कारण सार्वजनिक गरेको छैन। यस विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।
रिपोर्टअनुसार करिब एक घण्टासम्म चलेको तोडफोडका कारण सरकारी सेवा केन्द्रमा केही समय भागदौड मच्चिएको थियो। घटनाको केही घण्टापछि सेवा केन्द्रका केही काउन्टरबाट पुनः काम सुरु गरिएको बताइएको छ।
प्रतिक्रिया