हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज बिहान यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना भएको छ।
प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी बिहान करिब पौने ६ बजे अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो। प्रारम्भिक विवरणअनुसार गाडीमा चालकसहित १३ देखि १४ जना सवार थिए।
दुर्घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्धार तथा खोजी कार्यमा जुटेको छ।
उद्धारका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ७, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट १० र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट १० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यसैगरी सशस्त्र प्रहरी बलका १० र नेपाली सेनाका ११ जना पनि उद्धार कार्यमा खटिएका छन्।
गाडी सडकबाट निकै तल भीरमा खसेका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेकाले दुर्घटनाको विस्तृत विवरण र मानवीय क्षतिको यकिन तथ्यांक आउन बाँकी छ।
प्रतिक्रिया