रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्याएपछि प्रभावित बनेको पर्यटन व्यवसाय आवागमन सहज भएसँगै पुनः लयमा फर्किन थालेको हो।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट प्रभावित पर्यटन क्षेत्र क्रमशः चलायमान हुन थालेको बताए। पर्यटकको आगमन बढ्न थालेपछि होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा स्थानीय साना व्यवसायीलाई राहत पुग्न थालेको उनको भनाइ छ। गाउँपालिकाले पदमार्ग मर्मतसम्भार, पर्यटकको सुरक्षा र आवागमन सहज बनाउन आवश्यक समन्वय गरिरहेको उनले जानकारी दिए।
लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन नियमित हुन थालेको बताए। निकुञ्जले यस क्षेत्रको प्राकृतिक वातावरण तथा जैविक विविधता संरक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार सडक तथा पदमार्गको अवस्था सुधार हुँदै गएपछि तीर्थयात्री र पदयात्रीको सङ्ख्या बढ्न थालेको छ। स्थानीय होटल व्यवसायी सन्तोष घलेले पनि पछिल्लो समय आन्तरिक पर्यटक र युवापुस्ताको आकर्षण बढ्दै गएको बताए। उनका अनुसार पहिले जनैपूर्णिमा र गङ्गादशहरामा मात्र बढी चहलपहल हुने गोसाइँकुण्डमा अहिले वर्षभरिजसो पदयात्री र घुमफिरका लागि आउने पर्यटक देखिन थालेका छन्।
पदयात्रा मार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकास गर्न सके गोसाइँकुण्डको पर्यटनले स्थानीयको रोजगारी तथा जीविकोपार्जनमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउने व्यवसायी घलेको भनाइ छ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्दछ। करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको कुण्डको लम्बाइ ६२५ दशमलव ५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर रहेको छ। यहाँ करिब १४ लाख ७२ हजार घनमिटर पानी रहेको बताइन्छ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र गोसाइँकुण्डको धार्मिक महत्त्व प्राचीनकालदेखि नै रहँदै आएको छ। हिन्दू धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा निस्किएको कालकूट विष सेवन गरेपछि त्यसको डाहा शान्त पार्न भगवान् शिवले त्रिशूल प्रहार गरी पहरा खोपेर पानी निकालेका थिए। त्यही पानीबाट गोसाइँकुण्ड बनेको जनविश्वास छ। यसै कारण यस क्षेत्रलाई त्रिशूलधारासँग पनि जोडेर हेर्ने गरिन्छ।
विभिन्न समुदायले गोसाइँकुण्डलाई आ–आफ्नै नामले चिन्ने गरेका छन्। तामाङ समुदायले ‘ग्यो’ वा ‘छोकर’, शेर्पा समुदायले ‘घ्यो’, तिब्बती समुदायले ‘छो’ र नेवार समुदायले ‘शिलु’ भन्ने गर्छन्।
गोसाइँकुण्ड आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायत अन्य कुण्ड पनि छन्। ऐतिहासिक अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको मौलिक संस्कृति यस क्षेत्रका थप आकर्षण हुन्।
पारिस्थितिकीय महत्त्वका कारण गोसाइँकुण्ड क्षेत्र विसं २०६४ असोज ५ गते (सन् २००७ सेप्टेम्बर २३) रामसार सूचीमा सूचीकृत भएको हो। यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत वन्यजन्तु तथा लालीगुराँस, सुनाखरी र विभिन्न हिमाली वनस्पति पाइन्छन्।
गोसाइँकुण्ड नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमध्ये एक हो। यस क्षेत्रले हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गलाई समेत जोडेको छ। विशेषगरी जेठ–असारमा पर्ने गङ्गादशहरा र साउन–भदौमा पर्ने जनैपूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। बालाचतुर्दशीमा पनि विशेष धार्मिक अनुष्ठान हुने गरेको रसुवाका पुरोहित टंकप्रसाद ढकालले बताए।
धार्मिक आस्था, हिमाली प्राकृतिक सौन्दर्य, जैविक विविधता र मौलिक संस्कृतिको संगम रहेको गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्नु स्थानीय पर्यटन व्यवसायका लागि सकारात्मक संकेत हो। सडक तथा पदमार्गको दिगो सुधार र आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिन सके गोसाइँकुण्ड आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा अझ स्थापित हुन सक्ने देखिन्छ।
प्रतिक्रिया