काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुरेन्द्र लामाले वडावासीलाई समयमै सम्पत्ति कर, व्यवसाय कर तथा घरबहाल कर बुझाउन आग्रह गरेका छन्।
वडाको समग्र विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा स्थानीय पूर्वाधार निर्माण र सार्वजनिक सेवाको विस्तारमा सहयोग पुर्याउन नागरिकले आफ्नो दायित्वअनुसार समयमै कर तिर्नुपर्नेमा वडाध्यक्ष लामाले जोड दिएका छन्।
उनले सम्पत्ति कर, व्यवसाय कर र घरबहाल कर समयमै बुझाउनु प्रत्येक करदाताको जिम्मेवारी भएको उल्लेख गर्दै कर तिर्ने संस्कारले स्थानीय सरकारलाई जनताको आवश्यकता पूरा गर्न थप सहज हुने बताए।
“हामीले समयमै कर तिर्नु भनेको आफ्नो जिम्मेवारी पूरा गर्नु मात्र होइन, आफ्नै वडा र नगरको विकासमा योगदान पुर्याउनु पनि हो। त्यसैले बूढानीलकण्ठ नगरपालिका वडा नं. १ का सम्पूर्ण घरधनी, व्यवसायी तथा घरबहालमा लगाउने नागरिकलाई तोकिएको समयभित्र कर बुझाउन अनुरोध गर्दछु,” वडाध्यक्ष लामाले भने।
उनका अनुसार स्थानीय सरकारले नागरिकबाट प्राप्त राजस्वलाई विकास निर्माण, सरसफाइ, सडक तथा अन्य पूर्वाधार सुधार र जनतालाई उपलब्ध गराइने सेवासँग जोडेर अघि बढाउनुपर्ने हुन्छ। नागरिकको सक्रिय सहभागिता र करप्रतिको जिम्मेवारीले वडाको विकासलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने उनको भनाइ छ।
वडाध्यक्ष लामाले करसम्बन्धी जानकारी लिन, करको विवरण अद्यावधिक गर्न तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा कार्यालयमा सम्पर्क गर्नसमेत वडावासीलाई आग्रह गरेका छन्।
स्थानीय सरकार र नागरिकबीचको सहकार्यबाट मात्रै समृद्ध वडा निर्माण सम्भव हुने उल्लेख गर्दै उनले सबै करदातालाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न अपिल गरेका छन्।
समयमै कर तिरौँ, आफ्नो दायित्व पूरा गरौँ र बूढानीलकण्ठ नगरपालिका वडा नं. १ लाई व्यवस्थित, समुन्नत र समृद्ध बनाउने अभियानमा सहभागी बनौँ।
प्रतिक्रिया