काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई स्वागत तथा यसअघिका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीलाई बिदाइस्वरूप ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा नगर प्रमुख दीपककुमार रिसालले नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीलाई स्वागत गर्दै नगरपालिकाको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो।
नगर प्रमुख रिसालले स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जनताका आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नगरपालिकाका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउन सबै कर्मचारी तथा जनप्रतिनिधिबीच समन्वय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, यसअघिका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले नगरपालिकामा रहेर पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै नगर प्रमुख रिसालले उहाँको आगामी कार्ययात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले गौलीसँगको सहकार्य र अनुभव नगरपालिकाका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आपसी सम्बन्ध र सहकार्य कायम रहने विश्वास व्यक्त गर्नुभयो।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई नगरपालिकाको प्रशासनिक जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना दिँदै नगरको विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउन सकारात्मक भूमिका निर्वाह हुने अपेक्षा गरिएको थियो।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। स्वागत तथा ‘फेरि भेटौँला’ कार्यक्रमले कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया