बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित नवनिर्मित कृषि बजार भवनको समुद्घाटन सम्पन्न भएको छ। पूर्वनगर प्रमुख उद्धवप्रसाद खरेलले शिलान्यास गर्नुभएको उक्त भवन निर्माण सम्पन्न भएपछि नगरप्रमुख मिठाराम अधिकारीले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा सदस्यहरू तथा अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कृषि बजार भवनले स्थानीय कृषकलाई आफ्ना कृषि उपज बिक्रीवितरण गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषि क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार विकाससँगै बजार व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो।
नगरप्रमुख मिठाराम अधिकारीले कृषि बजार भवन सञ्चालनमा आएसँगै स्थानीय कृषकलाई आफ्ना उत्पादनको बजारीकरण गर्न सहज हुने तथा कृषि व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै कृषकको आर्थिक अवस्था सुधार गर्न यस्ता पूर्वाधार महत्वपूर्ण हुने धारणा राख्नुभयो।
वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले कृषि बजार भवनले वडाका कृषकलाई कृषि उपज बिक्री गर्न सहज बनाउने र स्थानीयस्तरमा कृषि व्यवसायको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको बताउनुभयो।
स्थानीय कृषकलाई कृषि उपजको बजारीकरणमा सहजता प्रदान गर्ने तथा कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यस भवनले बुढानीलकण्ठ नगरपालिकामा कृषि बजारको विकास र स्थानीय उत्पादनको व्यावसायिक प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। भवनको प्रभावकारी सञ्चालन र व्यवस्थापन गर्न सके कृषक तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास गरिएको छ।
प्रतिक्रिया