सूर्यगढी गाउँपालिकामा बजेट र भुक्तानी विवाद चर्कियो, अध्यक्ष र लेखा अधिकृतबीच आरोप–प्रत्यारोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०८३, सोमबार ०६:३४

काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन तथा भुक्तानीको विषयलाई लिएर गाउँपालिका अध्यक्ष र लेखा शाखाबीच विवाद चर्किएको छ। बजेटको शीर्षकगत विवरण तथा खाता सञ्चालनको अख्तियारी नपाएको लेखा अधिकृतको दाबी छ भने गाउँपालिका अध्यक्षले लेखा शाखाका कारण विभिन्न भुक्तानी रोकिएको आरोप लगाएका छन्।

लेखा अधिकृत सम्पदा न्यौपानेले गत असोज १३ गते प्रमुख प्रशासकीय अधिकृत राहुलकुमार उपाध्यायलाई पत्र लेख्दै चालु आर्थिक वर्ष २०८३/०८४ को शीर्षकगत बजेट विवरण उपलब्ध नगराइएको बताएकी थिइन्।

बजेट विवरण र खाता सञ्चालनको अख्तियारी नहुँदा विकास निर्माणका कामसँगै कर्मचारीको तलब तथा सामाजिक सुरक्षा भत्ता भुक्तानीमा समेत समस्या परेको उनको दाबी छ। उनले असोज १५ गतेसम्म बजेट विवरण उपलब्ध नगराए त्यसपछि उत्पन्न हुने असर तथा भुक्तानीको जिम्मेवारी लेखा शाखाले नलिने चेतावनीसमेत दिएकी थिइन्।

अख्तियारी नपाएकै कारण आफू कार्यालयमा हाजिर गर्ने काममा मात्र सीमित भएको न्यौपानेले बताएकी छन्।

यता गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले भने लेखा अधिकृतकै कारण गाउँपालिकाको काम प्रभावित भएको आरोप लगाएका छन्। कार्यपालिकाले निर्णय गरी प्रमुख प्रशासकीय अधिकृतले तोक लगाएका क्यान्सर तथा मेरुदण्ड भाँचिएका बिरामीलाई दिने आर्थिक सहायता र गत वर्षका २० देखि २५ वटा भुक्तानीसमेत रोकिएको उनको भनाइ छ।

अध्यक्ष घलेले लेखा अधिकृतले कार्यपालिकाको निर्णय र प्रणालीमा रकमको व्यवस्था नगरी स्कुटर खरिद गरेको आरोपसमेत लगाएका छन्।

तर लेखा अधिकृत न्यौपानेले अध्यक्षका सबै आरोप अस्वीकार गरेकी छन्। गत आर्थिक वर्षको असार अन्तिममा आएका केही फाइल प्रणाली सुस्त भएको र खाता बन्द हुने समय परेकाले भुक्तानी हुन नसकेको उनको स्पष्टीकरण छ। ती दायित्व चालु आर्थिक वर्षमा सरेको र नियमानुसार भुक्तानी हुने उनले बताएकी छन्।

गाउँपालिकाभित्र देखिएको विवाद समाधानको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई दिइएको छ। लेखा अधिकृतको सरुवा वा व्यवस्थापनका लागि प्रदेश सरकारमार्फत पहल भइरहेको अध्यक्ष घलेले बताएका छन्।

बजेटको अख्तियारी, वित्तीय प्रक्रिया र भुक्तानीमा देखिएको विवादले गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणमा असर पर्न सक्ने देखिएको छ। विवाद समाधानका लागि सम्बन्धित पक्षबीच समन्वय र वित्तीय प्रक्रियाको स्पष्टता आवश्यक देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor