काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ को आयोजनामा तथा शुभम मल्टिमिडियाको सहजीकरणमा ‘वडाध्यक्षसँग विद्यार्थी कार्यक्रम : स्थानीय मिडियासँग अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ। २०८३ असोज २० गते खगेन्द्र मा.वि.मा आयोजित कार्यक्रम वडाध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यार्थीहरूले स्थानीय विकास, शिक्षा, सञ्चार, सामाजिक विषय तथा पत्रकारितासँग सम्बन्धित विभिन्न विषयमा वडाध्यक्ष लामासँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। विद्यार्थीहरूले आफूले भोगिरहेका स्थानीय समस्या, वडाबाट भइरहेका विकास निर्माणका काम तथा आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा जिज्ञासा राखेका थिए।
कार्यक्रममा स्थानीय मिडियाको भूमिका, समाचार लेखन, पत्रकारिताको महत्व तथा समाजमा सञ्चारमाध्यमले निर्वाह गर्ने जिम्मेवारीका विषयमा समेत विद्यार्थीलाई जानकारी गराइएको थियो। डिजिटल प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सूचना सही र गलत छुट्याउने क्षमता विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष नवराज लामाले विद्यार्थीहरू देशको भविष्य भएकाले उनीहरूको जिज्ञासा, सिर्जनशीलता र क्षमता विकासका लागि स्थानीय तहले विद्यालयसँग निरन्तर सहकार्य गर्नुपर्ने बताए। उनले विद्यार्थीलाई पढाइसँगै समाज, समुदाय र स्थानीय तहका गतिविधिबारे जानकारी राख्न आग्रह गरे।
“विद्यार्थीले आफ्नो समुदाय र समाजमा भइरहेका गतिविधिबारे जानकारी राख्नुपर्छ। आफ्नो कुरा राख्ने, प्रश्न गर्ने र सही सूचना प्राप्त गर्ने संस्कारको विकासले उनीहरूलाई भविष्यमा जिम्मेवार नागरिक बन्न सहयोग गर्छ,” वडाध्यक्ष लामाले भने।
उनले स्थानीय तहका गतिविधि र विकास निर्माणका विषयमा विद्यार्थी तथा समुदायलाई जानकारी गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वडा र स्थानीय मिडियाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।
कार्यक्रममा विद्यार्थीहरूले वडाध्यक्षसँग प्रत्यक्ष संवाद गर्न पाउँदा आफूहरूमा स्थानीय सरकार र सञ्चारमाध्यमप्रतिको बुझाइ थप स्पष्ट भएको बताएका थिए। यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, अभिव्यक्ति कला, प्रश्न गर्ने क्षमता तथा सामाजिक विषयप्रतिको चासो बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय सञ्चारकर्मी तथा सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। शुभम मल्टिमिडियाले सहजीकरण गरेको कार्यक्रमले विद्यार्थी र स्थानीय जनप्रतिनिधिबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गरेको थियो।
प्रतिक्रिया